काठमाडौं:= फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणका बाँकी खेलका लागि कुवेत पुगेको नेपाली टोली मंगलबार अभ्यास सेसनमा व्यक्त रहृयो । सोमबार गरिएको पिसिआर परीक्षणमा सबै सदस्यको नतिजा नेगेटिभ आएपछि नेपाली टोलीले अभ्यास सुरु गरेको हो ।
नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार सोमबार गरिएको टोलीका २३ खेलाडीसहित ३५ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । शनिबार इराकसँग बस्रा रंगशालामा मैत्रीपूर्ण खेल खेलेपछि स्थलमार्ग हुँदै आइतबार राति नेपाली टोली कुवेत पुगेको हो । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा ६–२ को हार व्यहोरेको थियो । नेपाली टोलीका सदस्यहरू स्थानीय मैदानमा मंगलबार अभ्यासमा व्यस्त रहे । त्यसअघि सोमबार बिहान नेपाली टोलीले जिममा बिताएका थिए । कुवेतमा नेपाली टोलीले विश्व कप छनोट र एसिया कप छनोटको बाँकी तीन खेल खेल्नेछ ।
नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेई, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नुपर्ने खेल न्युट्रल भेन्युका रूपमा कुवेत सारिएको थियो । सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघि नै खेलिसकेको छ । चाइनिज र ताइपेई पनि आइतबार कुवेत पुगिसकेको छ ।
कुवेतसँग पहिलो खेलमा उसकै मैदानमा ७–० को हार व्यहोरेको नेपालले भुटानमा भएको खेलमा १–० ले गुमाएको थियो । दशरथ रंगशाला पूर्न निर्माणको कार्य भइरहेको बेला न्युट्रल भेन्युका रूपमा नेपाल र कुवेतले भुटानमा खेलेका थिए । छनोटको अन्य अवे खेलमा चाइनिज ताइपेलाई अञ्जन विष्टको २ गोलमा २–० ले हराएको नेपालले अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को पराजय भोगेको थियो । नेपाल अहिले अंक तालिकामा तीन अंकका साथ चौथो स्थानमा छ । नेपालको पाँच खेलमा एक जित र चार खेलमा हार व्यहोरेको थियो । अंक तालिको पुछारमा रहेको ताइपेईले अंक जोड्न सकेको छैन । अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।
नेपाली प्रशिक्षक अलमुताइरीले यसपटक ६ नयाँ खेलाडीलाई टोलीमा समेटेका छन् । त्यसबाहेक पछिल्लो टोलीबाट १० खेलाडीलाई मात्रै टोलीमा राखेका छन् । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, दीप कार्की र विशाल सुनार, डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल र विकास खवास हुनुहुन्छ ।
यस्तै मिडफिल्डरमा एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान रहनुभएको छ । त्यसबाहेक फरवार्डमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा र सुमन लामा हुनुहुन्छ ।




















