एजेन्सी := अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले एक दिवसीय विश्वकपमा १४ देश र टी–ट्वेन्टी विश्वकपमा २० देशले खेल्न पाउने निर्णय पारित गरेको हो ।
आईसीसीले २०२७ र २०३१ को एक दिवसीय विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यस अघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आईरहेका थिए ।
यस्तै २०२४, २०२६, २०२८ र २०३० को टी-२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आईसीसीले जनाएको छ । अहिले टी–ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आईरहेका छन् । यसै वर्ष भारतमा आयोजना हुने विश्वकपमा १६ टिमले खेल्ने छन् ।
सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी(ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले जनाएको छ। त्यस्तै २०२५ र २०२९ मा ८ टिम सहभागी च्याम्पियन्स ट्रफी आयोजना गरिनेछ ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२५, २०२७, २०२९ र २०३१ मा आयोजना गरिने समेत आईसीसीले जनाएको छ ।




















