खाडी मुलुक तथा मलेसियाबाट नेपाल फर्किनेले ५ दिन होटेल क्वारेन्टिनमा बसे पुग्ने।

काठमाडौं := वैदेशिक रोजगारीको निम्ति खाडी मुलुक र मलेसियामा काम गर्न गएका नेपाली श्रमिक रोजगारी सकिएर नेपाल फर्किदा ५ दिन मात्र होटेल क्वारेन्टिनमा बसे पुग्ने भएको छ।

सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन,टर्की र कतारमा हप्तामा एक/एक वटा दुईतर्फी उडान सञ्चालन गर्न सक्ने गरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै नयाँ मापदण्ड बनाएको हो।

मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट आउने यात्रु पाँच दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

मन्त्रालयले  नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गर्दै यस्तो प्रावधान ल्याएको हो ।

मन्त्रालयका अनुसार नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । होटेल क्वारेन्टिनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डले गर्ने भएको छ। यसपटकको होटल क्वारेन्टाइन घना बस्ती भन्दा बाहिर रहने बताएको छ ।

साथै, दीर्घरोगी, शारीरिक रुपमा अशक्तहरुले भने अस्पतालबाट समस्या पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर जान पाउनेछन् ।

त्यस्तै, ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र तीनका आमा–बुबा पनि स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्ने गरी घर जान पाउनेछन् ।