बागलुङकी नितु: जो घर–घरमा पुगेर संक्रमितको निःशुल्क उपचार गर्छिन्।

बागलुङ:= बागलुङकी नितु खड्का स्वास्थ्यकर्मी हुनुहुन्छ । यतिले मात्र उहाँको परिचय अपुरो हुन्छ । स्वास्थ्यकर्मीसँगै समाज सेवामा पनि नितुको भूमिका अग्रणी छ । बागलुङमा लामो समय विभिन्न स्वास्थ्य तथा सामाजिक क्रियाकलापमा सक्रिय बागलुङ नगरपालिका वडा नम्बर १ की नितु खड्का अहिले होम आइसोलेशनमा बसेका सङंमितको उपचार, मनोपरामर्श तथा स्वास्थ्य सेवामा व्यस्त हुनुहुन्छ ।

बिएमए नर्स रहनुभएकी खड्काले यस अघि पनि वेलनेस नेपालका तर्फबाट नेपालमै पहिलो पटक प्राथमिक उपचार सामग्री (फस्र्टएड बक्स) प्रत्येक घर–घरमा पु¥याउने अभियान चलाउनु भएको थियो । उहाँले तीन वर्ष अघिदेखि बागलुङका विभिन्न संघ संस्थासँग मिलेर विद्यालय, सवारी साधन तथा घरघरमै प्राथमिक उपचार सामग्री (फस्र्टएड बक्स) वितरण समेत गर्नुभयो ।

कोरोनाको दोस्रो लहरसँगै संक्रमितको संख्या बढ्दै गएपछि सामाजिक दायित्व बोध गरेर निःशुल्क सेवा दिँदै आएको स्वास्थ्यकर्मी खड्काले बताउनुहुन्छ । अहिले कोरोना संक्रमण पुष्टि भएर होम आइशोलेसनमा बसेकाहरुले उहाँलाई दैनिक फोन गर्छन् । उहाँ सधै उनीहरुलाई चेक जाँच गर्नुहुन्छ र मनोपरामर्श दिनु हुन्छ । त्यसले कोरोना संक्रमितहरुको मनोबल बढेको छ ।

‘कोरोनाको यो महामारीमा हस्पिटल बिरामीले भरिभराउ छन्, स्वास्थयकर्मीलाई भ्याइनभ्याई छ, यो समयमा होम आइशोलेसनमा पनि धेरै हुनुहन्छ, स्वास्थ्यकर्मीले मात्रै संक्रमितको हेरचार र उपचार गर्न सक्ने अवस्था छैन,’ खड्काले भन्नुभयो ‘म पनि एउटा स्वास्थ्यकर्मीको नाताले होम आइशोलेसनमा बस्नु भएका संक्रमितहरुको हेरचार र उपचारमा लागेको छु, यो मेरो धर्म, दायित्व र कर्तव्य पनि हो ।’

उहाँ बागलुङ बजार लगायत काठेखोला, गलकोट लगायत विभिन्न स्थानमा पुगेर संक्रमितहरुलाई मनोपरामर्शका साथै औषधीहरु समेत वितरण गरि राख्नु भएको छ । कोरोना महामारीमा स्वास्थ्यकर्मी भएको नाताले सङ्क्रमितको उपचारमा सहयोग गर्ने लक्ष्य लिएर यो अभियानमा लागेको उहाँको भनाई छ ।  घरमै बसेर कोरोनासँगै लड्दै गरेका जो कोहीलाई निःशुल्क सेवा दिने उहाँको लक्ष्य छ । उहाँले भौतिकरूपमा पुग्न नसक्ने स्थानका बिरामीलाई फोनबाट समेत मनोपरामर्श गर्दै आउनुभएको छ ।

संक्रमण हुना साथ अक्सिजन लगाउनुपर्ने र अस्पताल पुग्नु पर्ने गलत धारणा विकसित भइरहेको र त्यसकै कारण अस्पताल भरिएको उहाँको भनाइ छ । संक्रमितको रक्तचाप र अक्सिजनको मात्रा ठीक भएमा आत्तिन आवश्यक नरहेको उहाँले बताउनुभयो ।

वैशाख २१ गतेदेखि बागलुङमा निषेधाज्ञा जारी छ । जिल्लामा अधिकांश संक्रमित होम आइसोलेशनमा छन् । उनीहरुलाई सामान्य औषधी र मनोपरामर्शले कोरोना जित्न सफल बनाउने खड्काको अभियान हो । उहाँले बागलुङबाटै भक्तपुरका एक संक्रमितलाई समेत फोनबाट मनोपरामर्श दिँदै आउनुभएको छ । यस्तो बेलामा मनोपरामर्श औषधी उपचारभन्दा बढी आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

खड्काको अभियान फेसबुकमा देखेर आवश्यक पिपिई लगायत स्वास्थ्य उपकरण सहयोग समेत आएको छ । सामाजिक अभियानकर्मीहरुको सहयोग र उहाँको आफ्नै लगानीमा पिपिइ लगायतका स्वास्थ्य सामग्रीले व्यवस्थापन गरि संक्रमितको घर–घरमा पुग्ने गर्नुभएको छ । कतिपय सङ्क्रमितले आफै पिपिइको जोहो गरिदिएको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय केही पालिकाहरुले पनि संक्रमितको आत्मबल बढाउनका लागि र मनोपरामर्शका लागि खड्कालाई बोलाउने गरेका छन् । उहाँले संक्रमितलाई मनोपरामर्शसँगै ज्वरो, रुघाखोकी, ढाड दुखाइ, भिटामिन सीको कमीलगायतका समस्या देखिएको र सोहीअनुसार औषधि सिफारिस गर्ने गरेको उहाँले बताउनुभयो ।

खड्का वेलनेस समूह नेपालका अध्यक्ष, हाम्रो सानो प्रयास तथा रोट्र्याक्ट क्लब अफ बागलुङमा आबद्ध हुनुहन्छ । स्टाफ नर्स पढ्दादेखि नै सामाजिक तथा परोपकारी कार्यमा जोडिँदै आएको उहाँको भनाइ छ । उहाँले बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा बढी खटिने गर्नुहुन्छ ।

‘हाम्रो समाज अझै पनि विकसित भइसकेको छैन, अहिलेसम्म पनि रुढिवादी परम्परा र अन्धविश्वास कायमै छ, ग्रामीण क्षेत्रका नागरिकहरु अझै पनि बिरामी पर्दा अस्पताल नगई झाँक्री धामी कहाँ धाउँछन्,’ खड्काले भन्नुभयो ‘त्यो पुरानो अन्धविश्वासलाई हटाउनको लागि सानो प्रयास थालेको हुँ, बिस्तारै हट्ने अपेक्षा छ ।’