नेपाल देशभर थप ८,६३६ जनामा कोरोना संक्रमण, एकैदिनमा १६९ जनाको मृत्यु।

काठमाडौं:= पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी २२ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणका क्रममा ८ हजार ३८७ जनामा संक्रमण पुष्टि भएको हो। देशका विभिन्न ठाउँमा ६३० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म कोरोना भाइरसको संत्रमण हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ। हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त  भएका मन्त्रालयले जानकारी दिएको छ। देशभर हाल १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा र ८ हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा रहेकामध्ये  १ हजार ६७२ जना आईसीयू र ४४७   जना भेन्टिलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।