राष्ट्रपतिद्वारा जन्मसिद्ध नेपालीको सन्तानले वंशज नागरिकता पाउने अध्यादेश जारी, जसपाको माग पुरा।

काठमाडौं := राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । आइतबार भण्डारीले नेपाल नागरिकता( पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन्।

सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ।

यस अघि बिहिवार बसेको मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो। त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।

यो अध्यादेशपछि सरकार र जनता समाजवादी पार्टी नेपाल (जसपा) को सम्बन्ध थप नजिक भएको छ।संविधानको धारा ११ को उपधारा (३) मा  संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।