एजेन्सी (खेलकुद):= विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले हरेक चार वर्षमा हुदै आएको विश्वकप फुटबललाई प्रत्येक दुई वर्षमा आयोजना गर्न सक्ने सम्भावनाको बारेमा अध्ययन थाल्ने भएको छ ।
फिफाको भर्चुअलमार्फत बसेको ७१औं कंग्रेसपछि अध्यक्ष जियानी इन्फान्टिनोले हाल हरेक चार बर्षमा आयोजना हुँदै आएको विश्वकप अब दुई बर्षमा गर्न सकिने सम्भावना विषयमा अध्ययन सुरु गरिने जानकारी दिएका हुन् । साउदी अरेबियाले यसबारे प्रस्ताव राखेपछि भएको मतदानमा २ सय ९ मध्ये १ सय ६६ राष्ट्रले सम्भाव्यता अध्ययन गर्ने पक्षमा मतदान गरेका थिए । मात्र २२ राष्ट्रले यस प्रस्तावलाई नकारेका थिए ।
अध्यक्ष इन्फान्टिनोले अन्तर्राष्ट्रिय क्यालेन्डरलाई कसरी व्यवस्थापन गरेर विश्वकपका लागि समय निकाल्न सकिन्छ भन्नेमा फिफाले अध्ययन गर्ने बताएका छन् । समर्थकले धेरै भन्दा धेरै प्रतियोगिता र खेलहरु हेर्न चाहेको र त्यसका लागि फिफाले अध्ययन गर्ने बताए ।
यो प्रस्ताव तत्काल लागु हुन सक्ने अवस्था भने छैन । हाललाई फिफाले सम्भाव्यता अध्ययनको प्रस्ताव मात्र पास गरेको हो । लामो अध्ययनपछि पनि नै फिफाले यसबारे निर्णय गर्नेछ । पुरुषतर्फको विश्वकप २०२२ मा कतारमा तथा महिलातर्फको विश्वकप २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना हुँदैछ ।

कंग्रेसमा अध्यक्ष इन्फान्टिनोले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा भन्दा सन् २०१८ मा भएको रसिया विश्वकपमा बढी कमाई भएको बताएका थिए । ब्राजिल विश्वकपमा ४.८ बिलियन डलर पैसा उठेकोमा रसियामा करिव ६ बिलियन डलर आम्दानी भएको बताए ।
यो प्रस्ताव यसअघि मार्चमा फिफाको फुटबल विकास विभागका प्रमुख आर्सेन विंगरले अघि सारेका थिए । उनले महिला र पुरुष दुवैमा लागु गर्ने योजनासहित हरेक दुई वर्षमा विश्वकप आयोजना गरिने प्रस्ताव अघि सारेका थिए । छोटो अवधिमा गर्दा यसको महत्त्व घट्छ की भन्ने प्रश्नमा वेंगरले च्याम्पियन्स लिग हरेक वर्ष आयोजना हुने भएपनि महत्त्व नघटेको उदाहरण दिँदै यसले विश्वकपलाई कुनै प्रभाव नपार्ने समेत स्पष्ट पारेका थिए ।




















