एजेन्सी (खेलकुद):= स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न अन्तिम चरणको खेलमा जित निकालेसँगै एट्लेटिको मड्रिड च्याम्पियन बनेको छ। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भालाडोलिडमाथि १-२ को पुनरागमन जित निकाल्दै एट्लेटिको च्याम्पियन बनेको हो।
एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरे । सुआरेजले ६७औं मिनेटमा गोल गर्दै एटलेटिकोलाई २-१ को जित दिलाए।
त्यसअई ओस्कार प्लानोले १८औं मिनेटमा गोल गर्दै घरेलु टोली भाल्लाडोलिडलाई अग्रता दिलाएपनि ५७औं मिनेटमा एन्जल कोरेअले एट्लेटिकोका लागि बराबरी गोल फर्काएका थिए।
अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले भियारियल विरुद्ध २-१ कै पुनरागमन जित हात पारेपनि उपाधि रक्षा गर्न सकेन । एट्लेटिकोले बराबरीमा रोकिएको भए र रियल विजयी भएको अवस्थामा रियल हेड टु हेडमा विजेता बन्ने थियो । तर दुवै टोलीले एक गोलले पछि परेपनि त्यसलाई उल्टाएर जित हात पार्यो।
एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्दा रियलले ८४ अंक जोड्यो । सन् २०१३/१४ पछि एट्लेटिकोले पहिलो पटक ला लिगा च्याम्पियन बनेको हो।




















