एजेन्सी := ‘मिस यूनिभर्स २०२०’को ताज मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छिन्। ६९ औँ संस्करणकी विजेता मेजालाई पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले ताज लगाइ दिइन्।
अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा पूर्व मिस युनिभर्स जोजिबिनी टुँन्जीले मेजालाई ताज लगाइदिएकी छिन् । मेजाले उपाधिका लागि ७३ देशका सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतियोगिताको प्रश्नोत्तर राउन्डमा एन्ड्रियालाई सोधिएको थियो, ‘यदि तपाईं आफ्नो देशकी नेता हुनुहुन्थ्यो भने तपाईं कोभिड–१९ महामारीलाई कसरी नियन्त्रण गर्नुहुन्थ्यो ?’ यसको जवाफमा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ, कोभिड–१९ जस्तो यो मुश्किल स्थितिसँग जुधुनका लागि कुनै सही तरिका छैन । यद्यपि, स्थिति भयावह हुनु अगावै मैले लकडाउन भने गर्थेँ होला किनभने हामीले धेरै ज्यान गुमाएका छौं ।’
प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भइन्।प्रतियोगिताको यो संस्करणमा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन्। तर उनी उत्कृष्ट २१ बाट नै बाहिरिएकी थिइन्।गत वर्ष हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण सम्पन्न हुन सकेको थिएन।
नयाँ मिस युनिभर्सबारे केही जानकारी लिऔंः
उनको जन्म चिहुवाहुवा शहरमा १३ अगस्ट सन् १९९४ मा भएको हो । एन्ड्रिया २६ वर्षकी हुन् । उनी अल्मा कारमोना र स्यान्टियागो मेजाकी जेठी छोरी हुन् । उनका अन्य दुई बहिनी छन् ।
मोडल हुनुका साथै एन्ड्रिया सफ्टवेयर इन्जिनियर हुन् । सन् २०१७ मा चिहुवाहुवाबाट नै उनी सफ्टवेयर इन्जिनियरको रुपमा ग्रेजुएट भइन् ।
एन्ड्रिया लैङ्गिक हिंसाको विषयमा निकै मुखर छिन् । उनले सन् २०२० मा मेक्सिकन युनिभर्सल २०२० को ताज जितेकी थिइन् । यसबाहेक उनी मिस मेक्सिको २०१७ समेत बनिन् ।
उनले सन् २०१७ को विश्व सुन्दरीमा शीर्ष तीनमा आफ्नो स्थान बनाएकी थिइन् ।




















