काठमाडौं := निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न आग्रह गरेको छ ।
यसैगरी, कुनै परिस्थितिवश इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको सात दिनपछिसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुनेगरी नवीकरण गर्न सकिने संघले जनाएको छ। निषेधाज्ञामा कतिपय मुद्दती खाता नवीकरण गर्नकै लागि बैंंकमा जाने गरेका छन् । सीमित शाखा मात्रै खुल्दा बैंकमा सर्वसाधारणको उल्लेख्य उपस्थिति हुने गरेको छ । यसैलाई मध्यनजर गर्दै बैंकर्स एसोसिएसनले बैंकिङ कारोबार घरैबाट गर्नका लागि यस्तो आग्रहसमेत गरेको जनाएको छ ।
मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीलगायतका कार्य गर्न सकिने जनाउँदै एसोसिएसनले सकभर बैंकमा उपस्थित नहुन आग्रह गरेको छ। यसैगरी, सामान खरिद गर्दा उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआरमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोबार कम गर्न एसोसिएसनले आग्रह गरेको छ ।
बैंकिङ कारोबार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवासमेत उपलब्ध भएको बैंकर्स संघले जनाएको छ । बैंकमा भिड कम होस् भन्नका लागि बैंकहरुले हाल विभिन्न पाँच सेवा मात्रै सञ्चालनमा ल्याएका छन् ।
जसअनुसार खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक तथा आईपीएस र आरटीजीएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी सेवा मात्रै प्रदान हुने बताएको छ । यसै विज्ञप्तिमार्फत पुनः संघले अत्यावश्यकबाहेक साधारण कार्यका लागि अहिले बैंकमा नआउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।




















