स्पेनिस ला लिगामा रियल म्याड्रिडले घरेलु टोली एथलेटिको बिल्वाओलाई १–० गोलले हरायो।

एजेन्सी (खेलकुद):= स्पेनिस ला लिगा फुटबल खेेल अन्तर्गत गएराती भएको खेलमा डिफेन्डर नाचो फर्नान्डेसले सिजनको पहिलो गोल गरेपछि रियल म्याड्रिडले घरेलु टोली एथलेटिको बिल्वाओलाई १–० गोलले पराजित गरेको छ।

सान मामेस बारियामा आइतबार राति भएको खेलमा रियलको जितमा डिफेन्डर नाचो फर्नान्डेसले गरेको गोल नै निर्णायक बन्यो । उनले ६८औं मिनेटमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा रियलले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले त्यसलाई वेवास्ता गरिदिए ।

अल्भारो ओर्डिओजोलाको क्रस गरेको बल जोन मोर्सिलोको हातमा लाग्दै फर्किएको थियो । ५०औं मिनेटमा जोन मोर्सिलोको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले ब्लक गर्दै बिल्वाओको अग्रत टारे । ५८औं मिनेटमा लुका मोड्रिचको पेनाल्टी बक्सबाहिरको प्रहारलाई गोलरक्षक युनाई सिमोनले डाइभ दिदै बचाए ।

६१औं मिनेटमा लुका मोड्रिचको कर्नरमा क्यासमिरोको हेडर क्रसबारमा लागेर फर्कदा रियल अग्रता लिनबाट चुक्यो । ६८औं मिनेटमा नाचो फर्नान्डेजले गोल गर्दै रियललाई अग्रता दिलाए । क्यासमिरोले सिक्स यार्ड बक्सभित्र बाट गरेको लो क्रसलाई सुरुमै आफसाइड पोजिसनमा रहेका करिम बेन्जेमाले छाडेको बल नाचोलाई लाग्दै गोलमा परिणत भएको थियो ।

८३औं मिनेटमा मिकेल भेस्गाको हेडर पोस्ट नजिकैबाट बाहिरिदा बिल्वाओले बराबरीको अवसर खेर फाल्यो । ८९औं मिनेटमा बिल्वाओ १० खेलाडीमा समेटियो । सब्सिच्युट राहुल गार्सिया १० मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

यो जितपछि रियलको उपाधि जित्ने सम्भावना जीवितै बनेको छ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले ओसासुनामाथि २–१ पूनरागमन जित निकालेपछि उपाधिको छिनोफानो अन्तिम खेलबाटै टुंगो लाग्ने भएको हो ।

एट्लेटिकोले रियल भालाडोलिड र रियलले भिल्लारियलसँग खेल्न बाँकी छ । यो दुवै खेलमा दुवै टोली बराबरीमा रोकिएको र दुवै टोली पराजित भएको अवस्थामा एट्लेटिको च्याम्पियन बन्नेछ । एट्लेटिकोले बराबरी वा हार भोगेको अवस्थामा रियल च्याम्पियन बन्नेछ ।

रियलले अंक गुमाएको अवस्थामा एट्लेटिको च्याम्पियन बन्ने छ । ३७औं चरणको खेल सकिदा शीर्षस्थानको एट्लेटिकोको ८३ तथा दोस्रो स्थानको रियलको ८१ अंक छ । पराजित बिल्वाओ ४६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।