शपथग्रहण हो कि? हास्य सिरियलको रिहर्सल, राष्ट्रपतिले शपथ गराउदा प्रधानमन्त्री भन्छ: त्यो पर्दैन।

[ टिप्पणी ] 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई तीन वर्षदेखि हसाइरहनु भएको छ । उहाँ बिरामीका सामु पुगेर, शोकमा डुबेकाहरू नजिक पुगेर र शवसामु उभिएर पनि हसाउने अनेक शब्द, उखान, टुक्का र कामहरू ग्रिरहनु भएको छ । अक्सिजनका अभावमा मर्नेहरूको ताँतीमा पुगेर पनि उहाँको सायद प्रहसन रोकिने छैन होला । शवलाई चितामा राख्ने समयमा पनि जोकहरू भन्ने जंगली दृश्य कुनै दिन देखिने हो कि भन्ने शंसय हुँदैछ । तीन वर्षयता नेपाली जनताले अनुभव गरेको यथार्थ यही नै हो । हास्य कर्म नराम्रो होइन । स्वास्थ्यका लागि पनि जरुरी हुन्छ । कदाचित् नेतृत्वको पद परित्याग गरी ओलीले कमेडी च्याम्पियनको सिरियलमा प्रतिस्पर्धामा भाग लिनुभएमा नेपालमा सायद एक नम्बरको हास्य कलाकार भनेर ख्याति कमाउनु हुनेछ । तर, सरकारको नेतृत्वमा बसेर उहाँले गरिरहेको प्रहसनले कुनै ख्याति होइन कुख्याति कमाइरहेको छ।

पछिल्लो प्रहसन वैशाख ३१ गते शीतल निवासको शपथग्रहण कार्यक्रममा देखियो । लाजले पनि लाज मान्नुपर्ने गरी प्रदर्शित त्यो प्रहसन असभ्यता र अपसंस्कृतिको बिम्व नै हुनुसक्छ । संविधानमा तोकिएका शब्दहरूलाई शपथ गराउने अधिकारीले वाचन गर्ने र जिम्मेदारी लिन तयार व्यक्तिले पुनर्वाचन गर्ने प्रचलन संसारभर छ । जसलाई शपथ भन्ने गरिन्छ । शपथ अर्वाचीनकालदेखि नै प्रचलनमा छ । राजा, शिष्य, शासक, मन्त्री वा कुनै पनि जिम्मेदारहरूले जिम्मेदारी लिँदा निर्धारित काम निष्ठापूर्वक गर्ने प्रतिज्ञा हो शपथ । शपथको अर्थ वसन्तकुमार शर्मा नेपालले संग्रहित गर्नुभएको कोष ः नेपाली शब्दसागरमा उल्लेख भएअनुसार ः किरिया, धर्म भाक्नेकाम, प्रतिज्ञा, कवोल उल्लेख छ । शपथग्रहणको अर्थ : काम गर्ने वा पदभार सह्याल्ने कुराको दृढ वचन दिने काम, प्रतिज्ञा, कबोल, किरिया हाल्ने काम, शपथ गर्नु शपथ खानु भन्ने उल्लेख छ । नेपालको संविधानमा समेत शपथ निर्धारित छ । तर शपथ खानेहरूले संवैधानिक व्यवस्था उल्लंघन गर्दै आएका छन् । हो शपथ खानेहरूले शपथअनुसारको व्यवहार पूरा गरेका छैनन् । तर, शपथलाई नै जोक्समा परिणत गर्नेहरूबाट त जनताले के आशा गर्ने ?

शपथ पत्रमा ईश्वर, जनता र देशका नाममा शपथ गराउने व्यवस्था छ र यिनकै नाममा प्रतिज्ञा गर्छु भन्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्रीले ईश्वर शब्दको कुनै उच्चारण गर्नुभएन नै, देश र जनताका नाममा इमान्दारीपूर्वक काम गर्ने प्रतिज्ञा गर्न अस्वीकारसमेत गर्नुभयो । दुई पटकसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले स्मरण गराउँदा उल्टै परिवारको कुनै कनिष्ट सदस्यलाई हप्काएको जस्तो गरी, अत्यन्त हेयशैलीमा, राष्ट्रपतिको मर्यादाविपरीत असभ्यतापूर्वक प्रधानमन्त्रीले त्यो पर्दैन भनी इन्कार गरिरहनुभयो । त्यसबेला राष्ट्रपतिको हाँसो पनि मर्यादा सुहाँउदो भएन । राष्ट्रपति, प्रधानमन्त्री वा नेताहरूबाट वर्तमानलाई गरिने सम्बोधन, व्यवहार र शारीरिक भावभंगीमा भविष्यका लागि उदाहरण हुन् र ती भविष्यका पुस्ताका लागि हस्तान्तरित हुनेछन् । के हामीले त्यस शपथग्रहण समारोहको त्यो दृश्य भावी पुस्ताको धरोहरका रूपमा उदाहरण बनाउन र हस्तान्तरण गर्न सक्छौं ? कुनै औपचारिक समारोहमा राष्ट्रपतिका सामु प्रधानमन्त्री के त्यसरी नै प्रस्तुत हुनुपर्ने हो ? अथवा राष्ट्रपतिजीले प्रधानमन्त्रीको त्यो असभ्य व्यवहारप्रति हलुका रूपमा हाँसेर पन्छाउनुपर्ने हो कि गम्भीर भएर प्रस्तुत हुनुपर्ने थियो ? समाजमा अनेकथरि मानिसहरू हुन्छन् र अफवाहका स्रोतहरू हुन्छन् ती । त्यस्ता अफवाहका स्रोतहरूलाई समेत मलजल हुने गरी राष्ट्रपति र प्रधानमन्त्रीले औपचारिक समारोहमा देखाउनुभएको व्यवहार कुनै पनि अर्थमा आलोचनायोग्य र निन्दनीय छ । प्रभावशाली सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनले शपथग्रहण समारोहलाई प्रत्यक्ष प्रसारण गरिरहेको थियो त्यसबेला । त्यो दृश्यले नेपालको राजनीतिक संस्कृतिका पक्षधरहरूलाई आहत तुल्याएको छ । भाटगिरी गर्नेहरूको सोच फरक होला, उनीहरूको बाध्यता होला हरेक कुराको प्रतिरक्षा गर्नुपर्ने । तर, त्यस्तो प्रतिरक्षा स्वामिभक्त बाँदरको कथामा रूपान्तरित हुनुहुँदैन । अन्य राजनीतिक विषयभन्दा पनि यो टिप्पणीकारको आशय र सुझाव हो ः वर्तमान लोकतान्त्रिक प्रणालीका पछि अनेक सपूतहरूको रगत पोखिएको छ, शरीर पुरिएको छ, अनेकका घरवास उडेका छन् । यो प्रणालीको जगेर्ना गर्न सकिएन भने तिनको रगतले, बलिदानले सराप्ने छन् । असल लोकतान्त्रिक संस्कृति बसाउन सकिएन भने प्रणाली पूर्ण असफल हुनेछ । प्रणाली सफल गराउन गुरुहरू पनि असल हुनुपर्छ । असल गुरुहरू भने नेतृत्वमा बस्नेहरू नै हुनुपर्छ । किनकि: बडाले जे गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत…।