अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको हवाई जहाज ओमान उड्यो।

काठमाडौं := ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) त्यसतर्फ प्रस्थान गरेको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज बिहान साढे ७ बजे त्यसतर्फ उडेको हो ।

उक्त विमान शनिबार दिउँसो नै फर्कनेछ । निगमको जहाजले शनिबार साँझ नै चीनको बेईजिङको लागि उडान भर्ने छ । बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर, ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको छ । सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ ।

ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने छ ।  निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ। नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०– १२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज सात वटा अन्तर्राष्ट्रिय कार्गो उडान तथा अवतरण हुँदैछन् । नेपाल वायु सेवा निगम, हिमालय एअरलाइन्स र एअर चाइनाले उडान र अवतरण गर्दैछन् ।