निषेधाज्ञा जारी गर्न अब बाँकी चार जिल्ला मात्रै।

काठमाडौं:= मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन्। मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ।

यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महिनाका अवधिमा करीब करीब मुलुक नै ठप्प हुन पुगेको छ।

स्वास्थ्य विज्ञले यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी सङ्क्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर सङ्क्रमणको जालो तोड्नुपर्ने सुझाव दिएका छन् । विवरणानुसार मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् । यद्यपि सङ्क्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मनाङले भने वैशाख १३ गतेको निर्णयानुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै आएकामा आजको निर्णयले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, जात्रा मेलालगायत भीडभाड हुने काम नगर्न र विवाहमा १५ भन्दा बढी सहभागी नहुन निर्देशन जारी गरेको छ।

मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेक सेवा रोकिसकेको छ।खोटाङले आदेश जारी नगरे पनि भीडभाड हुने गतिविधिमा रोक लगाइसकेको छ।  रुकुम (पूर्व) ले पनि आज रातिदेखि लागू हुने गरी आंशिक आदेश जारी गरिसकेको छ । उसले गाडीका हकमा जिल्लाभर नै सञ्चालनमा रोक लगाएको तथा अन्य विषयमा स्थान तोकेर आदेश जारी गरेको छ । कम सङ्क्रमित रहेको तेह्रथुमले भने अहिलेसम्म कुनै सूचना  जारी गरेको छैन।

गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउँछन् । मुलुकमा पछिल्ला केही दिनदेखि नौ हजारमाथि दैनिक सङ्क्रमित फेला पर्दै आएका छन् तथा मृतक तीन अङ्क देखिँदै आएको छ।

मुलुकमा अक्सिजन र सिलिन्डर तथा सघन उपचार कक्ष, भेन्टिलेटर र शय्यासमेत अभाव हुँदा बिरामीको मृत्यु  हुन थालेको छ। नेपालमा पछिले साताको विश्लेषण गर्दा संक्रमितको सङ्ख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ । कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएको जनाइएको छ । भारतभन्दा नेपालमा संक्रमण र मृत्यु दर निकै बढी रहेको मन्त्रालयका सरुवा रोग विशेषज्ञ डा.अर्चना श्रेष्ठले जानकारी दिइन्।

नेपालमा प्रति १० लाख ३०४ र  भारतमा  २४० मात्रै सङ्क्रमण दर रहेको छ । नेपालमा प्रति १० लाखमा ३.३ जनाको मृत्यु भइरहेको छ । यो भारतको भन्दा बढी हो । भारतमा २.५ जनाको मृत्यु भएको तथ्याङ्क छ ।  पोजिटिभिटी दर भारतभन्दा नेपालमा दोब्बर  छ । प्राप्त विवरणानुसार भारतमा २२.६ प्रतिशत पोजिटिभिटी दर रहेकामा नेपालमा ४५.१ प्रतिशत छ । नेपालमा आजदेखि सक्रिय सङ्क्रमितको संख्या एक लाख नाघिसकेको छ।रासस