भारतमा कोरोनाः लगातार चौथो दिन ४ लाख बढी संक्रमित भेटिए, ४,०९१ जनाको मृत्यु।

एजेन्सी := भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । नयाँ संक्रमितसँगै मृत्युको बढ्दो आँकडा पनि चिन्ताको विषय बनेको छ ।

शनिबार भारतमा ४,०९१ कोरोना संक्रमितको ज्यान गएको छ । यद्यपि, राहतको कुरा के छ भने पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार २०७ जनाले कोरोना जितेका छन् । यो एकदिन निको हुनेहरुको सबैभन्दा ठूलो आँकडा हो ।

१५ राज्यमा लकडाउन जस्तो प्रतिबन्धः

भारतका १५ राज्यमा पूर्ण लकडाउन जस्तो प्रतिबन्ध छ । यसमा हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, ओडिशा, मध्यप्रदेश, महाराष्ट्र, कर्नाटक, केरल र मिजोरम समावेश छन् । यहाँ अघिल्लो वर्ष कोरोना महामारीका बेला जस्तै कडा प्रतिबन्ध लगाइएको छ । यस्तै १६ राज्य÷केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन लागू गरिएको छ ।