बारा:= कोरोना संक्रमण तिब्र रुपले फैलिरहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय बाराले बिहिवार देखि लागु हुने गरी निषेध आदेश जारी गरेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिइएको छ।
बाराका १६ वटै स्थानीय तहको प्रमुख र सुरक्षाअधिकारीका प्रमुखहरुको कलैयामा सम्पन्न संयुक्त बैठकले जिल्लामा तत्कालै निषेधाज्ञा नगर्ने सुझाव दिएको थियो । बैठक पछि आफुले पाएको अधिकारको प्रयोग गर्दै बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक सुचना जारी गरी बिहिवार देखी लागु हुने गरी १६ बुँदे अनिश्चितकालिन निषेध आदेश जारी गर्नु भएको छ ।
प्रजिअद्वारा जारी गरिएको निषेध आदेश अनुसार अत्यावश्यक काम वाहेक घरबाट बाहिर ननिस्कीन र निस्कनै पर्ने भए स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने भएको छ ।
खाद्यान, सागसब्जी, माछा–मासु, औषधी उपकरण बिक्री गर्ने बाहेकका पसलहरु शनिवार वाहेक प्रत्येक दिन बिहान ६ बजे देखी ११ बजे सम्म संचालन गर्ने, संचालन भएका पसलमा अनिवार्य स्वास्थ्यको मापदण्ड पुर्ण रुपमा पालन गर्नु पर्ने, हाट बजार, मेला, जात्रा जस्ता भीडभाड हुने कार्यक्रम संचालन गर्न नपाउने आदेश पत्रमा उल्लेख गरिएको छ ।
अत्यावश्यक सेवा (खानेपानी, विद्युत, अस्पताल, जनस्वास्थ्य, हुलाक, टेलिकम, वितिय संस्था आदी वाहेकका सार्वजनिक सेवा संचालन नगर्ने÷ नगराउने, भुमीसुधार तथा मालपोत कार्यालयबाट हुने जग्गाको रोक्का तथा फुकुवा गर्ने कार्य स्वास्थ्यको मापदण्ड पालन गरी सुचारु राख्ने, सार्वजनिक यात्रुवाहक तथा निजी सवारी साधन संचालनमा पुर्ण रुपमा रोक लगाईएको निषेध पत्रमा उल्लेख गरिएको छ ।
दैनिक उपभोग्य वस्तु खाद्यान्न, सागसब्जी, दुध, पिउने पानी, औषधी उपकरण, निर्माण सामग्री, कृषी कार्यका सामान, पशुपंक्षीका दाना, कुखुराका चल्ला जस्ता मालवस्तु ढुवानी गर्ने सवारीमा अनिवार्य व्यानर राखी संचालन गर्ने, नेपाल सरकार, बैंक तथा वितिय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको अधारमा आवतजावत गर्न दिईने व्यवस्था मिलाईएको निषेध पत्रमा जनाईएको छ ।
उद्योग, प्रतिष्ठान, बैंक, वितिय संस्था जस्ता सार्वजनिक निकायमा काम गर्ने कर्मचारीहरु आफ्नो परिचयपत्र सहित आवत जावत गर्ने, यसको लागी सवारी पासको आवश्यकता नपर्ने जनाईएको छ ।
मठ, मन्दिर, मस्जिद, गिर्जाघर, गुरुद्वारामा हुने नित्य, पुजा–आजा वाहेकका सामुहिक क्रियाकलाप गर्न नपाईने, विवाह, ब्रतबन्ध, अन्तिम संस्कार जस्ता नगरी नहुने सामुहिक कार्यमा स्वास्थ्यको मापदण्ड अपनाई २५ जना भन्दा बढी व्यक्ती जम्मा नहुने गरी सम्पन्न गर्ने, डिजे न बजाउन, अत्यवश्यक बाहेकका सार्वजनिक सेवा स्थगन गर्ने आदेशमा भनिएको छ ।
कोरो संक्रमणको दोश्रो लहरको क्रममा बारा जिल्लामा हाल सम्म ३ सय ३८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने १० जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




















