आईपीएल क्रिकेटका बाँकी सबै खेल मुम्बईमा आयोजना गर्ने तयारी।

एजेन्सी := कोरोना महामारीलाई मध्यनजर गर्दैइन्डियन प्रिमियर लिग-२०२१ (आईपीएल)का बाँकी सबै प्रतिस्पर्धाहरू मुम्बईमा आयोजना गर्ने तयारी गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) नजिकको स्रोतका अनुसार अहिले यसका लागि आवश्यक तयारी हुँदैछ।

सोमबार कोलकाता नाइट राईडर्सका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना पोजेटिभ देखिएपछि आईपिएलमा हंगामा मच्चिएको थियो । त्यसयता, कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरबीचको म्याच स्थगित भएको थियो।

बीसीसीआईका अधिकारीहरुका अनुसार यसै साताको अन्त्यदेखि नै आईपिएलका खेल मुम्बईमा सुरु हुनसक्छन् । अर्थात्, कोलकाता र बैंगलोरमा खेल हुनेछैन । त्यस्तै प्लेअफसहित फाइनल प्रतिस्पर्धा यसअघि तय भएको स्थल अहमदावादमा हुनेछैन । यी सबै खेल मुम्बईमै हुनेछन् । यद्यपी, यसबारे अन्तिम फैसला आउनै बाँकी छ।

बीसीसीआईको यस योजनाअन्तर्गत ८ या  ९ मेईदेखि आईपिएलका सबै प्रतिस्पर्धा मुम्बईका तीन रंगशालामा आयोजना हुनसक्छन् । वानखेडे, ब्रेबन र डिवाई पटिल रंगशालमा खेल हुनेछन् । वानखेडेमा यसअघि नै सिजनमा १० वटा म्याच आयोजना भइसकेका छन्।

मुम्बईमा खेल आयोजना हुने भएसँगै आईपिएलको खेल तालिका पनि हेरफेर हुनसक्छ । फाइनल खेल ३० मेईको साटो जूनको पहिलो साता आयोजना हुनसक्छ ।

वर्ल्ड टेस्ट च्याम्पियनसिपको कार्यक्रम पनि फेरिनसक्छ 

यदी आईपिएल जुनको पहिलो सातासम्म लम्बियो भने १९ देखि २२ जुनसम्म इङल्यान्डमा आयोजना हुने वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको कार्यक्रम पनि फेरिनसक्छ।

अहिलेसम्म इङल्यान्डले भारतमाथि भ्रमण प्रतिबन्ध लगाइरहेको छ । यदी यसमा छुट दिइयो भने पनि खेलाडीहरूले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने हुन्छ । त्यसकारण, आईपिएल जुनको पहिलो सातासम्म लम्बियो भने फाइनल खेल १८ जुनमा आयोजना गर्न संभव हुनेछैन ।