काठमाडौँ := नेपाल सरकारले कोरोना संक्रमण रोकथामका लागि सरकारले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।गुरुङका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सोमबार राति १२ बजेबाट उडान बन्द गर्ने निर्णय भएको हो ।
यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रमित भेटिएका छन् ।
मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले अन्य सवारी आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुने उनको भनाइ छ ।




















