बझाङ:= कोरोना माहामारीकै बीच बझाङमा यार्सा संकलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । जिल्लाको साइपाल, तलकोट, सुर्मा, मष्टा, छविस पाथिभेरा गाउँपालिका र बुंगल नगरपालिकाका स्थानीयहरुको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुडी नै रहेको छ । यार्सा संकलनको सिजन सुरु भएसंगै बझाङका अधिकांश स्थानीय यार्सा संकलन गर्न लेक तिर जान थालेका छन् ।
जिल्लाको उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँदा यार्सा र जडीबुटी संकलन नै मुख्य आयस्रोतको आधार रहेको छ । आम्दानीको मुख्य स्रोत यार्सा भएपछि यस क्षेत्रका बासीन्दाहरु परिवार सहित यार्सा संकलनका लागी घरमा ताला लगाएर बैशाखदेखि असार मसान्त सम्म तीन महिना लागी लेकतिर जाने गर्दछन् ।
गत बर्ष जिल्ला विपद व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनहरूमा संकलकहरुको भिड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भए पछि जोखिम न्युनीकरणका लागी यार्सा संकलनमा रोक लगाएको थियो । स्थानिय तहले पनि यार्सा संकलन गर्नमा रोक लगाएको थियो । तर यसबर्ष भने कुनै सुचना जारी गरेको छैन । जिल्लामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएपनि यस बारेमा कुनै निकायको ध्यान गएको छैन ।
यार्सा संकलन गर्ने पाटनहरुमा हिँउ पग्लीन थाले पछि संकलकहरु वन क्षेत्रमा जाने क्रम बढेको बुङगल नगरपालिका वडा नं २ का आनन्द धामीले बताउनु भयो । उहाँले भन्नु भयो– केहि बर्ष यता यार्सा खासै पाईदैन थिए । गतबर्ष कोरोना माहामारीका कारण भएको बन्दाबन्दी अर्थात लकडाउनले संकलकनको काम प्रभावित भयो । यार्सा संकलन गर्न नपाउँदा रोजीरोटी खोसियो । यस बर्ष यार्साको उत्पादन राम्रो हुने देखिए पछि लेकतिर जानेको घुईचो लाग्न थालेको बताउनु भयो ।
बुङगल नगरपालिकाका धौलाढुङगा, चुफी, कालीगाड, छरछरे, जलजला, निलखट्टी, ठाडे सुर्मा र साईपाल गाउँपालिका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, माझा, फरालखेत, कालापानी, राइढुंगी स्याङवन, लगायतका वन क्षेत्रमा यार्सासंकलकहरु पुगि सकेका छन् । बर्षभरीको परिवारको खर्च जोहो गर्न घरमा ताला लगाएर लेक तिर जाने गरेको साईपाल गाँउपालिका वडा नं ४ का स्थानिय बसन्त बोहराले बताउनु भयो ।
बोहोराले रोजगारी केहि छैन । आय आर्जन गर्ने माध्यम नै यार्सागुम्बा र जडिबुडि हो । गतबर्ष लकडाउनका कारण वन क्षेत्र बन्द हुँदा संकलन गर्न सकिएन । घर खर्च चलाउन धौ धौ भयो । यार्सा बाट मात्रै एक परिवारले तीन महिनाको अवधिमा ३ लाख देखि ७ लाख जति आम्दानी हुन्छँ । यार्सा तथा जडिबुडि संकलन नगरे भोकमरीको चपेटामा परिने गरेको बताउनु भयो ।
वैशाखदेखि असारसम्म यार्सा संकलनका लागि र भदौ देखि मंसिरसम्म यहाँका जंगलमा अन्य जडीबुटी खोज्न मानिसहरु लेकतिर जाने गर्दछन । केहि बर्ष यता यार्सा तथा अन्य जडीबुटी संकलन गर्न लेकतिर जानेको संख्या बढदै गएको छ । यो समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करिब १५ हजार पाल हाल्छन ।
हरेक बर्ष बझाङमा यार्सा संकलनका लागि मात्रै ४८ हजार भन्दा बढी मानिसहरु लेकतिर जाने गरेका छन । ग्रामिण भेगमा कोरोनाको उच्च जोखिम भएकै बेला यसरी हजारौको संख्यामा मानिसहरु लेकतिर जाँदा झन जोखिम हुने देखिन्छ । जंगलमा सबै एकै ठाँउ नहुने र यार्सा संकलन गर्दा अलग अलग जानु पर्ने भएका कारण कोरोनाको जोखीम भने कम हुने संकलकहरु बताउछन ।
कोरोनाको संक्रमणबाट बच्न गत बर्ष यार्सा संकलन गर्ने पाटहरु बन्द गरिएका थिए । यार्सा संकलन गर्न बन्द गरीएको भए पनि संकलकहरुले लुकी छिपी यार्सा संकलन गरेका थिए । गतबर्ष जिल्ला विपद व्यवस्थापन समितिले वन बन्द गर्न भनेकाले संकलन कार्यमा रोक लगाईएको भए पनि यसबर्ष संकलन कार्य रोक्ने नरोक्ने बारे कुनै जानकारी नआएको डिभिजन वन कार्यलय बझाङका कार्यलय प्रमुख कर्ण बहादुर खातीले बताउनु भयो ।
उहाँले भन्नु भयो, हाम्रो जिल्लामा अहिले यार्सा संकलन गर्ने सिजन नै हो । गतबर्ष रोक लगाउदा पनि लुकीछिपी गए । संक्रमण तिव्ररुपमा फैलदै छ । सबैले सचेत हुनुपर्ने हो । विभाग बाट पनि कुनै पत्राचार भएको छैन । सरकारले पनि यस बारेमा कुनै निर्णय गरेको छैन । विभागको निर्देशन अनुसार संकलन कार्यमा रोक लगाईने बताउनु भयो ।




















