काठमाडौं := भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना क्षेत्रका नागरिकसँग सम्पर्कमा रहेर नागरिकका गुनासो सुन्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ।
शुक्रबार भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकमा मोदीले स्थानीय स्तरको मुद्दाको सुनुवाइ गर्दै त्यसको समाधानमा लाग्न पनि निर्देशन दिनुभयो।
सरकार, राज्यका सबै अङ्गहरूसँग मिलेर काम गरिरहेको भन्दै उहाँले परिस्थिति छिट्टै नियन्त्रणमा आउने विश्वास दिलाउनुभयो।
भारतमा लगातार सातौं दिन तीन लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएको छ भने ३४ सय ९८ संक्रमितको मृत्यु भएको छ।
अक्सिजन र अत्यावश्यक औषधीको चरम अभाव हुँदा भारतको स्वास्थ्य क्षेत्र धरमराएको छ । शवदाहको लागि पनि घण्टौं लाइन बस्नु पर्दा सरकारप्रति जनआक्रोश बढ्दै गएको छ।



















