सीसीएमसीको निर्णय: सबै प्रकारका परीक्षा स्थगित,सीमानाकाहरुबाट विदेशी नागरिकलाई नेपाल प्रवेश रोक।

काठमाडौं:= कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने विद्यालय, विश्वविद्यालयका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।

यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् । यस अघि सरकारले पूर्वनिर्धारित परीक्षा सञ्चालनमा रोक लगाएको थिएन । यसैगरी सीसीएमसीले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन समेत सरकारलाई सिफारिस गरेको छ । भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

यसैगरी बैठकले ग्रामीण इलाकामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।