सुगन्धित,प्राकृतिक फूल हो महुवा, थारु समुदायमा मदिरा बनाउनलाई प्रयोग।

[ राम अवतार चौधरी ]

कपिलवस्तु:= जङ्गलमा पाइने एक प्रकारको सुगन्धित फूल हो महुवा । तराई लगायतका विभिन्न जिल्लाको जंगलमा पाइने महुवा प्रजातिको रुखमा फूल हुने गर्दछ । जुन प्रायः चैत, बैशाख र जेठ महिनामा रुखबाट भुईंमा खसेर खेर जाने गर्छ । तर त्यहि महुवाको सुगन्धित फूललाई थारु समुदायले रोचक तरिकाले प्रयोग गरेको पाईन्छ ।

रोचक तरिकामा भने उक्त समुदायमा आयुर्वेदिक औषधी तथा स्वादिलो रक्सी बनाउनका लागि महुवा प्रयोग गर्ने गरेको देखिन्छ । यस समयमा थारु समुदायका नागरिक महुवा बटुल्नका लागि विहानै देखि जंगल पुग्ने गर्दछन् ।

महुवा संकलनको सिजन सुरु भएसंगै जंगलमा महुवा बटुल्नेहरुको चहलपहल सुरु हुने थारु कल्याणकारिणीसभा कपिलवस्तुका अध्यक्ष उमाशंकर थारुले बताउँछन् । उनले भने–‘महुवा बटुल्न मान्छेहरु विहानै जंगल पुग्थे तर यो वर्ष अरु वर्षको जस्तो महुवा पनि छैन, साथै मानिस विभिन्न रोजगारीमा प्रभावित भएका कारण जङ्गल जानेको संख्या समेत घटेको छ।’

पछिल्लो समय थारु समुदायले विभिन्न ठाउँमा होमस्टे सञ्चालन भएको थारु कपिलवस्तुका अगुवा कल्लु थारुले बताए । होमस्टेमा आउने पाहुनाहरुले महुवाको रक्सी रुचाउने गरेकाले स्थानीयले संलन गरेका महुवा होमस्टे सञ्चालकले पनि खरिद गर्ने गरेको उनले बताए । यसैगरी, विभिन्न चाडपर्वका बेला घरमा आएका पाहुनालाई खुवाउनका लागि घरमै रक्सी बनाइने गरेको अगुवा थारुले बताए ।

महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका वृक्षको फूल हो । बसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्दछ । झरेको फूललाई संलन गरी सुकाउने र रक्सी बनाउने गरिन्छ । महुवा शक्तिवद्र्धक जडिबुटी रहे पनि यसको वैज्ञानिक खोज तथा अनुसन्धान हुन नसक्दा यो त्यत्तिकै खेर गइरहेको कतिपयको बुझाइ पनि छ ।

स्थानीयले महुवा संकलन गरेर पछि मदिरा बनाउने गर्दछन् । महुवा जंगलमा पाईने एक प्रकारको सुगन्धित फुल हो । यो औषधी मूलक हुन्छ । महुवाबाट औषधि समेत बनाउन सकिने भए पनि यसको उपयोग केवल रक्सी बनाउनमा मात्रै सीमित हुने गरेको कपिलवस्तुका स्थानियको भनाई छ ।