भक्तपुर := भक्तपुरको सूर्यविनायक नगरपालिका–४ मा पत्नीले खानामा बिष हालेर पतिको हत्या गरेको पाईएको छ । खानामा बिष मिसाएर खुवाएर श्रीमान्को मृत्यु भए पछि जोर्डन भागेकी धादिङ घर भई हाल सूर्यविनायकमा बस्ने २९ वर्षीय पार्वती थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।
पार्वतीले भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका घर भएका पति विष्णु थापामगरको हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ०७२ माघ २७ मा विष्णु वैदेशिक रोजगारीबाट फर्केका थिए । विदेशबाट आएको भोलिपल्ट छोरालाई स्कुल पठाएर पार्वतीले खानामा विष घोलेर श्रीमानलाई खान दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘अण्डा करी, गहतको दाल र खानामा विष खुवाएको भिसेरा रिपोर्ट मार्फत खुलेको छ ।
सो खाना खाए लगत्तै अप्ठेरो महसुस गरेका थापा मगरलाई मध्यपुर अस्पताल लगिएको थियो र त्यही उनको मृत्यु भएको थियो । विवाहेत्तर सम्बन्धका कारण सो खुल्न सक्ने डरले उनले पतिको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मृतकका भाइ लोकबहादुरले भाउजुविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई बुधवार पक्राउ गरेको हो ।




















