काठमाडौं:= प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँगको दुई चरणको वार्ता पछि एमालेका उपाध्यक्ष वामदेव गौतमसँग बिहीबार डिनर मिटिङ गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन प्रस्ताव गर्नु भएको थियो ।
भेटमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि सहभागी हुुनुहुन्थ्यो । भट्टराईका अनुसार प्रधानमन्त्री र गौतमले एक्ला–एक्लै लामो छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्रीसँगको संवादपछि गौतमले प्रधामन्त्रीसँगको आफ्नो सम्बन्ध जमानादेखिको भएको भन्दै त्यो अटुट रहने बताएको भट्टराईले बताउनु भएको छ ।
तर, गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए अनुसार उहाँहरु दुई बीचको संवाद सुखद हुन सकेन ।
सुवेदीले लेख्नु भएको छ ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ।’





















