अख्तियारको स्टिङ अपरेसनमा सर्वोच्च अदालतले लगायो रोक।

काठमाडौं := सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनमा रोक लगाएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले बुधवार घुससहित पक्राउ गर्न गरिने स्टिङ अपरेसन नगर्न अख्तियारका नाममा आदेश जारी गरेको हो।

आफै घुस दिएर स्टिङ अपरेसन गर्ने अख्तियारको कामको वैधतामाथि प्रश्न उठाउँदै अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुस २ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।अख्तियारले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न आफै पैसा दिएर स्टिङ अपरेशन गर्दै आएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावलीको नियम ३० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस/रिसवत माग गरेको उजुरी परेमा अनुसन्धानका लागि आयोगले आफ्ना कर्मचारी वा अन्य कुनै व्यक्ति मार्फत घुस उपलब्ध गराउने र त्यसो गर्ने व्यक्तिलाई कुनै कारबाही र सजाय नगरिने व्यवस्था छ।

नियमावलीमा यस्तो व्यवस्था गरेर अख्तियारले आफैंले घुस रकम उपलब्ध गराउने र त्यसैका आधारमा ‘स्टिङ अप्रेसन’ गर्ने काम गर्न नपाइने जिकिर गर्दै अधिवक्ता घिमिरेले ३ वर्षअघि रिट दायर गरेका थिए। अख्तियारले आफै प्रमाण सिर्जना गरेर स्टिङ अपरेसन गरेको र यसले वैयक्ति स्वतन्त्रता, व्यक्तिको मर्यादा, मौलिक हक हनन भएको, संविधान विपरीत भएको घिमिरेको जिकिर थियो। यसमा छुट्टै कानुन बनाउन पनि उनले माग गरेका थिए।