कुनै पनि बेला मुलुक चुनावमा जानुपर्ने हुन सक्छ: एमाले अध्यक्ष,प्रधानमन्त्री केपी ओली।

काठमाडौं:= एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहप्रति थप कारबाही गर्ने घोषणा गर्नुभएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाल समूहमाथि थप कारबाही हुने बताउनुभएको हो। बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउने आठ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो  ।

बैठकले पार्टी अनुशासनविपरीत गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अन्तिम चेतावनीपूर्ण स्पष्टीकरण सोधेको हो । त्यसैगरी, कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई पनि दुई दिनभित्र जवाफ माग्ने गरी स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

उनीहरूबाट चित्त बुझ्दो जवाफ नआए वैशाख १० गते बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही गर्नेछ । बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, उक्त प्रतिवेदनमा आगामी कार्यभारका रूपमा पार्टी संगठन विस्तार, विचार निर्माण र एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्ने तथा तीनै तहका सरकार सक्रिय बनाउने उल्लेख छ । ‘कुनै पनि बेला निर्वाचनमा जानुपर्ने भएकाले तयार रहन अध्यक्षले निर्देशन दिनुभएको छ’, बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

ओलीको प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्थाबारे व्याख्या गर्दै पार्टी एकीकरण केही व्यक्तिका कारण असफल भएको निष्कर्ष निकालिएको छ । त्यस्तै, सरकारका तीन वर्षे कामको समीक्षा पनि ओलीको प्रतिवेदनमा उल्लेख छ । जसमा तीन वर्षमा सरकारले महŒवपूर्ण काम गरेको दाबी गरिएको छ ।  बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पास भएको छ ।

त्यसैगरी, महासचिव ईश्वर पोखरेलले बैठकमा पेश गर्नुभएको सांगठनिक प्रतिवेदनमा भदौभित्र जिल्ला, वडा हुँदै मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका पारित भएको छ । एमालेको अर्को बैठक वैशाख १० गते बस्नेछ । बैठकमा माधव समूहका नेताहरू उपस्थित भएका थिएनन् । तर, यसअघि माधव समूहमा खुल्दै आएका केन्द्रीय सदस्य विष्णु रिजाल र सोम मिश्र भने बैठकमा सहभागी हुनुभएको थियो ।

माधव नेपालले अक्षम्य अपराध गरे : प्रधानमन्त्री ओली

अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासमा माधव नेपालले पहिलो पटक अलोकतान्त्रिक र गैरसंसदीय हर्कत गरेको बताउनुभएको छ । सोमबारको बैठकमा ओलीले कर्णालीमा फ्लोेर क्रस गर्न लगाएर गैरसंसदीय हर्कत गरेको बताउनुभएको हो । बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दुईमुखे प्रवृत्ति भएको भन्दै एक मुखले देशभक्तिको कुरा गर्ने गरेको र अर्कोतिर राष्ट्रघाती काम गर्ने गरेको आरोप लगाउनुभयो । ‘प्रचण्डले एकातिर न्याय र सुशासनको कुरा गर्ने । अर्कोतिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने । माधव नेपालहरू संघीयताविरोधी, अलोकतान्त्रिक, अराजक काम गर्ने, समानान्तर कमिटी बनाउने  र फ्लोर क्रस गराउनेसम्मको अपराध गरेकाले इतिहासले कलंकको टीका प्रचण्ड र माधव नेपालहरूलाई लगाउनेछ,’ बैठकमा ओलीले भन्नुभयो ।

थपिएका ११ सय केन्द्रीय सदस्य राष्ट्रिय परिषद् सदस्यमा परिणत

तत्कालीन नेकपा विभाजनको बेला केपी ओली पक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरू अब एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन् ।

सोमबारको बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनीत भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रूपान्तरित गरेको हो । पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते प्रचण्ड–माधव पक्षले कार्की बैंक्वेटमा अलग्गै बैठक राखेको थियो । सोही दिन बालुवाटारमा बसेको ओली अध्यक्षताको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कामय गरेको थियो ।

सर्वाेच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएसँगै ती केन्द्रीय सदस्यहरू के हुने भन्ने अन्योल थियो । अब उनीहरू केन्द्रीय कमिटी र महाधिवेशनको बीचको एमालेको संरचना राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बन्ने भएका हुन् । यो परिषद्ले विधान संशोधन निर्णय गर्न पाउछ । राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य थपिएसँगै ओलीले आउँदो साउनमा पार्टीको विधान संशोधनका लागि बैठक बोलाउनुभएको छ  । १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक वैशाख १० गते बस्ने गरी स्थगित भएको छ ।

आन्तरिक कलह चरमोत्र्षमा पुगिरहेको एमालेभित्रको दुई समूह अब एक भएर जाने सम्भावना टर्न थालेको छ । संस्थापन पक्ष र माधव–झलनाथ समूहले पार्टी ब्युँतिएपछि एकतर्फी गतिविधिलाई तीव्रता मात्र दिएका छैनन् आपसमा संगीन आरोपप्रत्यारोपसमेत लगाइरहेका छन् ।

पछिल्लो समय कर्णाली प्रदेशमा पार्टीभित्रको आन्तरिक झगडा छताछुल्ल भएपछि दुवै समूह एक भएर जान नसकिने निचोडमा पुगेको विभिन्न स्रोतले दाबी गरेका छन् ।  अहिलेको अवस्थामा माधव पक्षसँग मिलेर जानु थप घातक हुने भन्दै संस्थापन पक्ष पनि नेपालले पार्टी फुटाएर जाऊन् भन्ने चाहेको छ भने ओलीसँग एकता गर्ने सम्भावना सकिएकाले नयाँ पार्टी खोलेर माओवादीसँग एकता गर्न चाहेको नेपालनिकट स्रोतले जनाएको छ ।