इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित निकालेको छ। वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा पञ्जाबमाथि ६ विकेटको सानदार जित निकाल्दै चेन्नइले प्रतियोगितामा पहिलो जित निकालेको हो।
मुम्बईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । १ सय ७ रनको लक्ष्य पाएको चेन्नई सुपर किङ्ग्सले ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । चेन्नई सुपर किङ्ग्सका लागि मोइन अलिले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै फाप डु प्लेसिसले ३६ रन जोडे । चेन्नई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो ।
यस्तै पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको थियो । जारी सिजन चेन्नइको यो पहिलो जित हो। आज हुने खेलमा मुम्बइ इण्डियन्स र सनराइजर्स हैदराबाद भिड्नेछन्।




















