काठमाडौँ:= नेकपा एमाले नेतृत्वको सरकार र जनता समाजवादी पार्टीले गठन गरेको कार्यदलबीच छलफल भएको छ । छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा गरिरहेको कार्यको बारेमा ब्रिफिङ’ भएको छ । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको थियो ।
गृहमन्त्रालयले आफ्नो काम अगाडि बढाएको छ । जसपा नेपालले बुझाएको फाइलको बारेमा गृहमन्त्रालयले अध्ययन थालेको र चाँडै नै जिल्ला जिल्लामा सर्कुलर पठाएर बन्दी रिहाइको प्रकृया थाल्ने सरकारको तर्फबाट गठन भएको कार्यदलले भनेको जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए ।
सरकारलाई समर्थन गर्न प्रधानमन्त्री ओलीले गरेको आग्रहको बारेमा जिज्ञासा राख्दा उनले प्रधानमन्त्री अ‍ोलीबाट त्यस्तो आग्रह सधै आउने गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री अोलीले आज मात्र होइन, सरकारलाई समर्थन गर्न, सरकारमा आउन सधै आग्रह गर्दै आउनु भएको छ, हामीले हाम्रो माग पुरा भएपछि मात्र त्यसको बारेमा निर्णय लिने भन्दै आएका छौं ।’
सरकारलाई समर्थन गर्ने निर्णय एउटा व्यक्तिले लिन नसक्ने भन्दै यसका लागि पार्टीमा छलफल हुन बाँकी रहेको कुरा आफूहरुले प्रधानमन्त्री ओलीलाई बताएको उनले जानकारी दिए ।




















