साली – भेनाले सिस्नुपानी लगाएर मनाए ‘बिशु’ पर्व।

डोटी := सुदूरपश्चिममा सालीले भेना तथा भेनाले सालीलाई सिस्नुपानी लगाएर ‘बिशु’ पर्व मनाएका छन् । वैशाख १ गतेको दिन भेनाले साली तथा सालीले भेना र भाउजूलाई खोजी–खोजी सिस्नुपानी लगाउने चलन रहेको छ । हात–हातमा सिस्नु बोकेर सालीले भेना तथा भेनाले सालीलाई सिस्नु लगाउन खोज्दै हिँड्नेहरु प्रसस्तै देखिएका थिए ।

यो पर्व हरेक नयाँ वर्षको १ गते मनाउने चलन रहेअनुसार उनीहरुले ‘बिशु’ पव मनाएका हुन् । नयाँ वर्ष अर्थात् ‘बिशु’ पर्वका दिन साली–भेना तथा देवर–भाउजूलाई सिस्नुपानी नलगाए वर्षभरिमा शरीरमा विभिन्नखाले रोग आउँछ भन्ने अन्धविश्वासका कारण सिस्नुपानी अनिवार्य लगाउनुपर्ने नियम रहेको शिखर नगरपालिका–२ का स्थानीयबासी रामबहादुर दमाईंले बताउनुभयो ।कोरोना कहर कायम रहे पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा धूमधामका साथ ‘बिशु’ पर्व मनाइएको छ । कोरोना सङ्क्रमणबाट बच्न विभिन्न सावधानीसँगै यहाँका नागरिकले बिशुपर्व मनाएका हुन् । डोटीसहित यहाँका अन्य जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दार्चुला तथा बाजुराका गाउँघरमा ‘बिशु’ पर्वको चहलपहल निकै बढेको स्थानीयबासीहरु बताउँछन् ।

सुदूरपश्चिममा ‘बिशु’ पर्वलाई निकै महत्वका साथ मनाउने चलन रहेको छ । यहाँका सात पहाडी जिल्लासहित तराइँका दुई जिल्ला कैलाली र कञ्चनपुरमा समेत उक्त पर्व निकै महत्वका साथ मनाइन्छ । तराईमा प्रायः गरी पहाडी समुदायका व्यक्तिले मात्रै उक्त पर्व मनाउने गर्दछन् । हरेक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते संक्रान्तिका दिनमा सुदूरपश्चिमेलीसमुदायले विशेष महत्वका साथ ‘बिशु’ पर्व मनाउने गर्छन् ।गएको वर्ष कोरोना महामारी निकै बढेका कारण ‘बिशु’ पर्व मनाउन नपाएको र यो वर्ष पहिलेको तुलनामा कोरोना केही कम भएको भन्दै यहाँका नागरिकहरु ‘बिशु’ पर्व मनाइएको जोरायल गाउँपालिका–१ का गणेशबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोरोना अहिले पनि छ तर हामी कोरोनाबाट जोगिन विभिन्न सावधानी अपनाउँदै यो पर्व मनाएका छौं ।’सुदूरपश्चिममा नयाँ वर्षको दिन एकाबिहानै नुहाइधुवाइ गरी मिष्ठान्न परिकार खाएर तथा एक–अर्कालाई खान दिएर दिउँसोको सायमा ‘बिशु’ पर्व मनाइने गरिन्छ । नयाँ वर्षको दिन ‘बिशु’ पर्वको रमझमले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, अछाम, बाजुरा कैलाली, कञ्चनपुर, डोटीलगायतका जिल्लामा बेग्लै रौनक देखिएको थियो । बिसु पर्व मनाउनकै लागि यहाँका पहाडी जिल्लाका ग्रामीण भेगबाट कामका लागि गएका मानिसहरु भारतलगायतका ठाउँबाट आ–आफ्ना गाउँ–घर फर्किएका थिए ।

गहुँबाली भित्र्याउने र मकै छर्ने सिजनसमेत शुरु भएकाले हिउँदमा मजदुरीलगायत काम गर्न छिमेकी मुलुक भारतका विभिन्न शहर गएका यहाँका नागरिक अहिले गाउँ फर्किन थालेपछि यहाँका गाउँ घरमा दशैं–तिहार जस्तै चहलपलह भएको सायल गाउँपालिकाका स्थानीयबासी तथा नेकपा माओवादीका नेता तेजबहादुर डुम्रेलले बताउनुभयो ।नयाँ वर्षको अवसर पारेर विभिन्न विद्यालय तथा युवा र बालक्लबहरूले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका छन् । अहिले यहाँका गाउँघरमा ‘बिशु’ पर्व तथा नयाँ वर्षकै लागि कमेरो र रातोमाटोले घर लिपेर चिटिक्क सजाइएका छन् ।‘बिशु’ पर्वमा मुख्यतया मासको दालबाट बनाइने विशेष स्थानीय परिकार ‘बटुक’ र चुकाउनी खाने चलन । यसरी बटुक खाएपछि पेटमा समस्या नहोस् भनेर झिर तताएर डाम्ने प्रचलनसमेत यदाकदा समाजमा देख्न सकिन्छ । यसका साथै खीर, सेल, पुरीलगायत मिष्ठान्न पकाएर खाने चलन छ । तर, यस दिन ननुहाइ खाना नखाने मान्यता छ, नुहाउन पनि जौ–तिल, तीतेपातीलगायत सामग्री प्रयोग गरिन्छ, जुन पवित्रताको प्रतीक मानिन्छ ।

बिसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिक कालदेखि नै यो पर्व मनाउने गरिएको ज्योतिष पण्डित पदमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किम्वदन्ती छ ।#नेपालसमाचारपत्र