एमसीसी फेरि अघि बढाउन र पास गराउनमा प्रधानमन्त्री ओलीनै सक्रिय।

काठमाडौं:= अघिल्लो वर्ष राजनीतिमै हलचल मच्चाएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता अनुमोदनका लागि पुनः संसद्मा अघि बढाउने प्रयास सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि प्रतिनिधिसभाको यही अधिवेशनमा यो सम्झौतालाई टुंगो लगाउने पक्षमा उभिएका छन् । प्रधानमन्त्री यो मुद्दामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि मत मिलेको छ ।

देउवाले यो सम्झौता संसद्बाट अनुमोदन गराउनका लागि अन्य दलहरुसँग लविइङ थालेका छन् । देउवाले मंगलबार जसपा अधयक्षहरु बाबुराम भट्टराई र उपेन्द्र यादवसँगको भेटमा सत्ता समीकरणसँगै एमसीसीको विषय पनि उठाएका थिए ।

मंगलबारै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा पनि उनले एमसीसीलाई टुंगो लगाउनुपर्ने भन्दै समर्थन लिने कोसिस गरेका थिए ।

स्रोतहरुका अनुसार ओली र देउवा एमसीसीको विषयलाई टुंगो लगाउनुपर्नेमा एकमत छन् । संसदको विधेयक शाखामा २०७६ असार ३० मा दर्ता एमसीसी सम्झौता तत्कालीन सत्तारुढ दल नेकपाको आन्तरिक किचलोका कारण अड्किएको थियो ।अहिलेसम्म उक्त सम्झौताबारे संसद्मा प्रक्रिया अघि बढ्न सकेको छैन । कान्तिपुर