ओलीलाई झट्का: पत्रकार महासंघको अध्यक्षमा कांग्रेस निकट पोखरेल निर्वाचित।

काठमाडौं := नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल विजयी भएको छ ।

शनिबार सकिएको मतगणनाअनुसार अध्यक्षमा पोखरेल नेतृत्वको समूहले बढी जित हासिल गरेको छ । निर्वाचन समितिले आज साँझ ५ बजे महासङ्घ केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

महासंघकाअनुसार अध्यक्षमा पोखरेल भारी मतले विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, उपाध्यक्ष समावेशीमा उदय जिएम निर्वाचित भएका छन् ।

त्यस्तै, खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएको महासङ्घले जनाएको छ ।

पत्रकार महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता सहभागी भएका थिए ।

नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल, राप्रपा निकट मिडिया नेपाल, जसपा निकट प्रेस मञ्चसहितको प्यानलबाट निर्मला शर्मा नेतृत्वको प्यानलले केही जिल्लामा जिते पनि नेतृत्व पङ्तिमा हार व्यहोरेको महासङ्घ निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।