पुनर्नियुक्त चार जना मन्त्रीलाई पद तथा गोपनियताको शपथ।

काठमाडौं:= राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ।

शुक्रबार राष्ट्रपति कार्यालयमा  चार मन्त्रीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई  राष्ट्रपति भण्डारीले शपथ गराउनु भएको हो।

नेकपा एमाले प्रवेश गर्नु भएको चार मन्त्रीलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेको थियो । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बन्नु भएको नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो।

पदमुक्त भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँहरुलाई मन्त्री नियुक्त गर्नु भएको हो।