शुक्रबारदेखि नयाँ नियमका साथ आइपिएलको १४ औं संस्करण सुरु।

नयाँ दिल्ली := इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। क्रिकेटको सबैभन्दा रोमाञ्चक फर्म्याट मानिने ‘टी–२०’ अन्तर्गत भारतका विभिन्न फ्रेन्चाइजी टिमबीच हुने यो प्रतियोगिता यस पटक भने विगतको भन्दा केही पृथक देखिनेछ ।

आइपिएलका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले केही नयाँ नियम बनाएको छ भने केही नियमलाई परिमार्जन गरेको छ ।

जसले गर्दा आइपिएलको यो सिजनमा दर्शकले भरपूर मनोरञ्जन प्राप्त गर्ने अपेक्षा लिइएको आयोजक कमिटीको भनाइ छ । आइपिएलको पहिलो म्याच शुक्रबार साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर बेंग्लोरबीच हुनेछ ।

घरेलु मैदानमा खेल्न नपाइने

आइपिएलमा यस पटक कुनै पनि टिमले घरेलु मैदानमा खेल्न पाउने छैनन् । यसले गर्दा कुनै पनि टिमले मैदानमा घरेलु दर्शकको साथ पाउने छैनन् ।

नयाँ नियम अन्तर्गत आइपिएलको १४ औं संस्करणमा प्रत्येक टिमले ‘तटस्थ स्थान’ मा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

‘सफ्ट सिग्नल’ हटाइयो

आइपिएलको १४ औं संस्करणमा अम्पायरले तेस्रो अम्पायरलाई मैदानबाट ‘सफ्ट सिग्नल’ दिने छैनन् ।

मैदानमा रहेको अम्पायर कुनै निर्णयमा पुग्नका लागि विश्वस्त नभएको अवस्थामा तेस्रो अम्पायरलाई ‘रेफर’ गर्ने क्रममा मैदानबाट ‘सफ्ट सिग्नल’ का रुपमा आफ्नो निर्णय दिनुपर्ने नियम छ । तर ‘सफ्ट सिग्नल’ लाई उल्टाउनका लागि पर्याप्त प्रमाण आवश्यक पर्ने भएकाले कतिपय अवस्थामा तेस्रो अम्पायरले समेत सही निर्णय दिन नसकेको अवस्था थियो ।

हालै भारत र इंग्ल्याण्डबीचको खेलमा ‘सफ्ट सिग्नल’ का बारेमा विवादसमेत भएको थियो । तर, आइपिएलको १४ औं संस्करणमा अम्पायरले मैदानबाट ‘सफ्ट सिग्नल’ दिन पाउने छैनन् ।

९० मिनेटभित्र २० ओभर

बीसीसीआईले आइपिएलको १४ औं संस्करणमा एउटा नयाँ नियम ल्याएको छ, जसअनुसार २० ओभरको खेललाई ९० मिनेटभित्र टुंग्याइसक्नुपर्ने छ ।

यसअघि २० औं ओभर ९० मिनेटमा सुरु गर्नुपर्ने बाध्यता रहे पनि अब भने ९० मिनेटभित्रै २० ओभर समाप्त गरिसक्नुपर्ने जनाइएको छ ।

बलिङ गर्ने टिमले निर्धारित समयभित्र म्याच समाप्त नगरेमा त्यस्तो टिमको कप्तानलाई १२ लाख रुपैयाँदेखि लिएर ३० लाख रुपैयाँसम्म जरिवाना हुनेछ । अम्पायरले कप्तानलाई एक म्याचका लागि प्रतिवन्धसमेत लगाउन सक्ने नियम बनाइएको छ ।

‘शर्ट रन’ बारे तेस्रो अम्पायरले फैसला गर्ने

‘शर्ट रन’ का बारेमा अब मैदानमा रहेको अम्पायरले नभई तेस्रो अम्पायरले अन्तिम फैसला गर्नेछ । मैदानमा रहेको अम्पायरले गरेको फैसलामा त्रुटि रहेमा तेस्रो अम्पायरले उक्त फैसलालाई उल्ट्याउन सक्नेछ ।

चौथो अम्पायरलाई चेतावनीको अधिकार

ब्याटिङ गर्ने टिमले जानाजान समय बर्बाद गरिरहेको छ भने चौथो अम्पायरले चेतावनी दिन सक्ने छ । बलिङ गरिरहेको टिमलाई निर्धारित समयभित्र खेल सक्नबाट रोक्ने उद्देश्यले ब्याटिङ टिमबाट समय खेल फाल्ने काम भइरहेको महसुस भएमा चौथो अम्पायरले चेतावनी दिन सक्ने र त्यस्तो चेतावनीबारे टिमको कप्तान र मेनेजर दुवैलाई जानकारी दिने व्यवस्था गरिएको छ ।

म्याच अवरुद्ध भएमा अतिरिक्त समय

कुनै कारणबस बीचमा केही समय म्याच अवरुद्ध भएमा अवरुद्ध भएको समय पूर्ति गर्नका लागि प्रतिओभर ४ मिनेट १५ सेकेन्ड समय थपिने व्यवस्था गरिएको छ ।#रातोपाटी