जननिर्वाचित सांसदलाई हटाउने पत्र पाएपछि प्रचण्डमाथि खनिए मन्त्री प्रभु साह।

काठमाडौं := नेकपा (माओवादी केन्द्र)ले सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्र पठाएपछि माओवादी त्यागेर एमालेको प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका सहरी विकास मन्त्री प्रभु साह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि खनिएका छन्।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भएको बताएका छन्।

‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन,’ साहले लेखेका छन्,‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन्।’

उनले प्रचण्डको यो निर्णय प्रतिगामी कदम भएको पनि जिकिर गरेका छन्।

‘अर्थात् रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यताविपरीत प्राविधिक/कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रूपमा क्रियाशील सांसदहरूको पदमाथि यसरी अनुचित रूपमा हमलाको दुस्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो,’ साहले फेसबुकमा लेखेका छन्।