वायु प्रदूषण फेरि ‘हानिकारक’, काठमाडौं विश्वकै प्रदूषित सूचीमा फेरि एक नम्बरमै।

काठमाडौं:= काठमाडौँसहित देशभरि पुनः वायु प्रदूषण बढेको छ । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

सोमबार काठमाडौं उपत्यकासहित देशभर घाम लागेन भने काठमाडौंसहित देशका अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखियो । केही दिन सुधार आए पनि फेरि वायु प्रदूषण बढेको हो ।

सोमबार बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा एक नम्बरमा परेको छ । काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ । जुन स्वास्थ्यका लागि हानिकारक हो । यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।

काठमाडौंसहित देशभर वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । गर्मी बढेसँगै डढेलोका कारण सोमबार बिहानैबाट उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको बताइएको छ।