महामारीले रेमिट्यान्सलाई डिजिटलमा परिवर्तन गर्न मद्दत गर्‍यो र अब भविष्य डिजिटलको हो :कमल।

[ रामप्रसाद ढुंगेल ] 

युएई := प्रविधिमा आएको विकास र परिवर्तनले रेमिट्यान्स क्षेत्र पनि स्तरोन्नति भएको रिया मनी ट्रान्सफरका मिडलइस्ट निर्देशक कमल क्षेत्रीले बताएका छन् । उनको भनाइमा आगामी दिनहरुमा क्यास रेमिट्यान्सको मात्रा कम हुँदै जानेछ र अबको रेमिट्यान्स भनेको डिजिटल प्रविधिमा जानेछ । अब पैसाको आदानप्रदान गर्दा बैंक वा वित्तीय संस्था जानू नपर्ने र मोबाइल एपबाटै सम्बन्धित व्यक्तिको खातामा वा वालेटमा पैसा जम्मा गर्न सकिने अवस्थाको विकास भएको उनले बताएका छन् । आफै पनि युएईमा बसेर डिजिटल रेमिट्यान्सको पक्षमा निरन्तर काम गरिरहेका क्षेत्रीको रेमिट्यान्सयात्रा, अनुभव र अनुभूति आफैमा रोचक छ ।

सन् २००३ मा नेपालबाट आइएमईमा शुरु भएको पर्वतका कमल क्षेत्रीको रेमिट्यान्स-यात्रा २००५ मा मलेसिया पुगी १२ वर्ष बिताएर हाल २०१७ देखि युएइमा आइपुगेको छ । विश्वका १ सय ६५ देशहरूमा चार लाख ५० हजारभन्दा बढी भुक्तानी केन्द्र भएको रेमिट्यान्सको क्षेत्रमा दोस्रो ठूलो कारोबार गर्ने रिया मनी ट्रान्सफरको मिडल इस्ट अपरेसन डाइरेक्टर (मध्यपूर्व संचालन निर्देशक) का रूपमा उनी २०१७ देखि युएइमा बसेर काम गरिरहेका छन् । नेपालमा आइएमईसँग रिया मनीको सहकार्य छ भने विश्वका धेरै देशहरुमा रिया मनी ट्रान्सफरका आधिकारिक एजेन्टहरु छन् । रियाको धेरै कारोबार भने मेक्सिको लगायत अमेरिकी देशहरुमा हुन्छ भने मध्यपूर्वबाट धेरै ब्यापार भने भारत, पाकिस्तान, फिलिपिन्स, बंगलादेश लगायत अधिकांश देशहरुमा हुनेगरेको छ । उनको कार्यक्षेत्र भनेको युएइमा बसेर मध्यपूर्व (मिडलइस्ट) का सबै देशहरुमा रिया मनी ट्रान्सफरका संचालन सम्बन्धि सम्पुर्ण कामहरु हेर्नु र आवस्यकता अनुसारको निर्देशन दिनु हो । सम्बन्धित देशको पैसाको हरेक दिनको अमेरिकी डलरसँग विनिमयदर निर्धारण पनि उनैनै गर्छन् भने मध्यपूर्वका सबै देशहरुको पैसाको नेपाली विनिमय दर निर्धारण मुख्य जिम्मेवारी उनैको हो ।

हिजोआज साउदी अरब, कतार, बहराइन, कुवेत, ओमान, इजिप्ट, जोर्दन, लेबनान सम्मको रिया मनी ट्रान्सफरका सबै समस्याहरुको युएइमा बसेर समाधान गर्छन् । उनको दैनिकी रेमिट्यान्सको क्षेत्रमा अप टु डेट भएर बित्ने गर्छ । रेमिट्यान्सको क्षेत्रमा मज्जाले रमेका छन् कमल । उनै कमलले नेपाली रुपैयाँको लागि हरेक दिन युएइ समय बिहान ९ बजे र दिउँसो १ बजे रेट निर्धारण गर्ने गरेका हुन्छन् । काम गर्न, आफ्नो क्षमता अभिबृधी गर्न र एउटा पूर्ण आरामदायी जीवनयापन गर्न युएइ विस्वका उत्कृष्ट देशहरुको टप टेनभित्र पर्छ भन्ने उनको विस्वास छ । सुरक्षाको पूर्ण प्रत्याभूति नै युएइको सबैभन्दा राम्रो पक्ष हो भने विविधता र हरेक क्षेत्रमा सर्वोच्च हुने र नमुनाका रूपमा प्रस्तुत हुन युएइ सफल पनि भएको छ ।

उनलाई यहाँको स्वास्थ नीति सबैभन्दा अनुकरणीय लाग्छ । यहाँ स्वदेशी होस् या विदेशी, मालिक होस् या श्रमिक, हरेक बासिन्दाको स्वास्थ-बिमा अनिवार्य छ । यसले यहाँको गुणस्तरीय स्वास्थ्य सुविधा नेपालीहरुले पनि पाएका छन् ।
उनछोरी किन्जलको जन्म २०२० डिसेम्बर १५ मा भएको हो । सारजाको जुलेखा हस्पिटलमा छोरी जन्मिदा लागेको रकम सबै बिमाले ब्यहोरीदिएको थियो । यसले के प्रमाणित गर्छ भने अनिवार्य स्वास्थ-बिमाले सबैलाई (सरकार, बिमा कम्पनी र नागरिक) फाइदा नै दिलाउँछ । उनलाई युएइको शान्ति सुरक्षा विस्वमै अनुकरणीय लाग्छ । यहाँ लुटिने, कुटिने र अपरधिक समुहको आक्रामकमा परिने डर छैन । रातको १२ वा १ बजे मुख्य शहरमा महिलाहरु पनि स्वतन्त्रतापुर्वक हिंड्डुल गरिरहेका हुन्छन् । यहाँको प्रहरी प्रशासन एकदमै निस्पक्ष, प्रभावकारी, सम्मानित एवम् प्रओफेसनल छन् । यहाँका सामुद्री किनार, पार्क र बाटोघाटो अति नै लोभलाग्दा छन् । सार्वजनिक सुविधा सबैलाई बराबर छ अझ बाटोहरुमा साइकललेन र पैदललेन मात्रै होइन, केही स्थना र सरकारी कार्यालयहरु अपांगमैत्री पनि छन् ।

यति लामो समयसम्म युएइमै बस्नुको रहस्यबारे प्रश्न गर्दा उनको उत्तर थियो, “मलाई यहाँको शिक्षा अथवा शैक्षिक प्रणाली मन परेर पनि हो । मेरो छोरा नाम कोविद क्षेत्री सारजाको बृटिस पाठयक्रम भएको प्रोभिडेन्स इङ्लिस स्कुलमा कक्षा १ मा पढिरहेकाे छ । यो सानो उमेर वा कक्षामा पनि उसमा सिकाइप्रतिको भोक स्कुलले जगाएको छ । व्यावहारिक शिक्षा र खेल्दै सिकाउने बिधिले गर्दा मेरो छोरा जिज्ञासु, परिपक्व र कल्पनाशील छ ।”

कमल सपरिवार युएइमा बसिरहेका छन् । उनी मलेसियामा रहदा पोखराकी तृप्ती कुँवरसँग मेरो विवाह भएको थियो । त्यो बेला मलेसियामा काम गर्ने केटा भनेर केटी पक्षका केही आफन्तले नाक खुम्च्याएको उनले स्मरण गरे । उनले भने, “अझै पनि मलेसिया र खाडी मुलुकहरूमा काम गर्न जाने नेपालीहरुलाई हेयको नजरले हेरिन्छ तर यहाँ पनि युरोप र अमेरिकामा भन्दा राम्रो आयआर्जन गरिरहेका नेपालीहरु उल्लेख रुपमा छन् ।”

तस्बिरमा कमल क्षेत्री

प्रवासी नेपालीहरुको जीवनस्तर, रहनसहन नेपालमा बस्नेहरुलाई थाहा नहुन सक्छ । युएइ त अहिले विश्वमै उत्कृष्ट देश बन्ने तरखरमा छ । विश्वकै अग्लो भवन बुर्ज खलिफा, मिराकल गार्डन, विश्वकै ठुलो दुबई मल, विस्वकै अग्लो होटेल विविध भौतिक संरचना र विकासले गर्दा युएइ धेरै विदेशीहरुको रोजाइको देश बनेको छ । यो देशमा बसेर काम गर्न पाउनु युरोप र अमेरिकामा काम गरे सो सरह हुन्छ । उता पिआर र स्थायी बसोबासको मोह हुन्छ यता त्यो लगभग असम्भव छ तर युएइले विशेष दक्षता भएका विदेशी नागरिकहरुलाई स्थायी बसोबासको लागि विशेष सुबिधा दिने नीति सन् २०२१ बाट लागू गरेको छ ।

कमल प्रहरी परिवारको सदस्य हुन् । उनका बुबा खडगबहादुर क्षेत्री नेपाल प्रहरीको सामान्य सिपाहीबाट सेवा सुरु गरेर डिएसपीसम्म पुगेर अहिले अवकास जीवन बाँचिरहनु भएको छ। आमा रुपा क्षेत्री गृहिणी हुन् । उनको जन्म २०३८ साल असार १७ गते भएको हो । पर्वतको मध्यम वर्गीय क्षेत्री परिवार र त्यसमा पनि प्रहरी परिवारको सदस्य भएकोले घरमा अभावको महसुस मैले गर्नुपरेन । बुबा त जागिरको सिलसिलामा प्रायः घरमा कम्ती बस्नुहुन्थ्यो । ५ वर्षको उमेरसम्म हजुरबुबा, आमा, दिदीबहिनीहरु र परिवारका अन्य सदस्यहरुका साथमा हास्दै, खेल्दै कतिबेला बित्यो उनलाई पत्तै भएन । दिदीबहिनीहरुका साथमा घाँसदाउरा गरेका, खोलानाला तरेका, गोठालो गएका केही धुमिल यादहरु अहिले पनि उनको स्मृतिमा आउँछन् । पाँच वर्ष पुगेपछि उनको पढाइलेखाइबारे चासो बढेछ परिवारमा । सबैको सल्लाह र सुझाव अनुसार उनलाई काभ्रेको साँगामा रहेको दिपेन्द्र प्रहरी आवासीय स्कुलमा पढाउने निर्णय भएछ । हजुरबुबाले पनि सहमति जनाएपछि काका धर्म केसीको सहयोगमा पर्वतबाट कोसौ टाढा रहेको दीपेन्द्र प्रहरी स्कुलमा कक्षा १ मा भर्ना भएर पढन थालेछन् । पाँच वर्षको अबोध बालक उनलाई होस्टेल जीवनका प्रारम्भिक दिनहरुमा आमाको न्यानो काखको अभावले केही समय अवस्य सतायो । तर, एकै उमेरका साथीहरू होस्टलमा भेटेपछि क्रमशः त्यही वातावरणमा रमाउदै जान थालेँ । त्यो स्कुलमा प्रहरी परिवारका छोराछोरीलाई भारी छुटमा पढ्न र बस्न पाउने व्यवस्था थियो । सर्वसाधारणले पनि भर्ना त पाउने तर उनीहरूलाई धेरै महँगो शुल्क लाग्ने गर्थ्यो ।
त्यो स्कुलमा प्रहरीको जस्तो कडा नियम र अनुशासन थियो ।
एकाबिहानै ठिक ५ बजे उठेर दैनिक १ घन्टा प्रहरी जस्तै परेड खेल्नुपर्ने । चकचक गरे कारबाही भोग्नुपर्ने । समयको ठिक पालना गर्नुपर्ने । ठिक समयमा उठने, ठिक समयमा खाने, ठिक समयमा खेल्ने, ठिक समयमा पढने र ठिक समयमा सुत्ने । यो समय चक्रमा चलेपछि जीवननै एकप्रकारको अनुशासन र मान्यताको मानसिक अवस्था सेट हुने रहेछ । समयको सही व्यवस्थापन गर्न सानैमा सिक्न सकिदो रहेछ । समय व्यवस्थापन त सबै क्षेत्रमा लागु हुने रहेछ । दिपेन्द्र प्रहरी स्कुलले उनलाई जिन्दगीमा अगाडि बढ्न धेरै अर्थमा सिकाएको छ ।
होस्टेलमा पनि मन मिल्ने दौतरी भएपछि उतै रमाइलो लाग्न थालेछ कमललाई । वर्षमा १ पटकपटक दशै-तिहारको छुटीमा घर जान जान्थे । आमाबुबा र परिवारका सदस्यहरुलाई भेट्न त मजा हुन्थ्यो तर अलि पछिल्ला वर्षहरुमा त छुटीमा घर आएको बेला पनि कहिले स्कुल जाने होला जस्तो अनुभुति हुन थालेछ उनलाई । एउटै उमेर वयका दौतरीहरुसँगको रमाइलो अनि अनुशासन र पढाइमा पाएको सफलताले उनलाई १० वर्षको स्कुले जीवन छिटो बिते जस्तो लाग्छ ।

उनले २०५४ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे । बुबाको सपना भने मलाई डाक्टर बनाउने थियो । उनको सपना भने बुबा जस्तै सफल प्रहरी अफिसर बन्ने थियो । तर, समयले भनौ या भाग्यले न त बुबाको सपना पुरा भयो न त उनको ! बुबाको सोचाइ अनुसारको उनले डाक्टर बन्नको लागि साइन्स नपढेका कारण बाबुछोराको ६ महिनासम्म बोलचाल बन्द भएको थियो । एसएलसीपछि उनले लैनचौर काठमाडौंमा रहेकोे निस्ट कलेजमा व्यवस्थापन संकाय अध्ययन गर्न थाले। निस्ट कलेज साइन्सको लागि प्रख्यात छ तर उनले आफ्नो रुचि अनुसार कमर्स रोजे । पल्स टु सजिलोसँग पास गरे प्रथम श्रेणीमै । त्यसपछि पिपुल्स क्याम्पस पकनाजोलमा बिबिएस अध्ययन गरे । बिबिएस पनि सहजै पास गरेपछि उनले जागिरे जिन्दगी काठमाडौंबाट शुरु गरेँ । बुबा प्रहरीमा भएकोले स्वाभाविक रूपमा प्रहरीमै भर्ना हुनुपर्छ भन्ने इच्छा थियो । तर, कमल आफ्नो क्षमता र प्रतिभाको बलमा जागिर खान चाहन्थेँ । प्रहरी निरीक्षकका लागि तयारी गरिरहेको बेला आइएमई नेपाल (इन्टरनेसनल मनी एक्सचेञ्ज) ले टेलरको लागि भ्याकेन्सी खुलाएको रहेछ । उनले निवेदन दिएँ सन् २००३ मा । त्यो बेला जागिर पाउन गाह्रो थियो । सोर्सफोर्सबिना कुनै क्षेत्रमा राम्रो काम पाइदैन भन्ने मान्यता थियो । तर, आइएमईमा सोर्सफोर्सभन्दा पनि व्य्याक्तिको क्षमता र अध्ययनको प्रमाणपत्रलाई नै प्राथमिकता दिने चलन रहेछ । अन्तर्वार्तामा पास पनि भएर उनले आइएमई नेपालमा काम सुरु गर्न थालेँ । त्यो बेला शुरुमा विभिन्न बैंक गएर पैसा जम्मा गर्ने उनको जिम्मेवारी थियो । रोजगारीका लागि विभिन्न देशहरुबाट नेपालीहरुले आइएमई मार्फत पठाएका पैसा सम्बन्धित मानिसका लागि पायक पर्ने घर छेउका बैंकमा आइएमईले जम्मा गरेपछि मात्रै भुक्तानी पाउने हुँदा राजधानी बाहिरका नेपालका केही जिल्लाहरु कामको सिलसिलामा कलल पुग्ने गर्थे । अलि पछि काठमाडौंमै काउन्टरमा बसेर भुक्तानी दिने काम पनि करिब २ वर्ष जति गरे । त्यो बेला उनको तलब ३ हजार ५ सय रुपैयाँ थियो । २००३/०५ को त्यो तलब राम्रो नै मानिन्थ्यो ।

आइएमईमा काम गर्ने सिलसिलामै उनले सोही कम्पनीको लागि रेमिट्यान्स प्रवर्द्धनको लागि मलेसिया जाने अवसर पाए । देश पनि हेरिने, मुख पनि फेरिने सोचेर उनी सन् २००५ मा मलेसिया गए । मलेसिया जादा आइएमईले उनको तलब करिब ७ गुणा बडाएको थियो । त्यो बेलाको त्यो तलब उच्च पदस्थ कर्मचारीले मात्रै पाउथेँ । मलेसियाबाट त्यो बेला अवैध रूपमा नेपाल भित्रिन्थ्यो । त्यो बेला नेपालीहरुको लागि आइएमई नै पहिलो रेमिट्यान्स कम्पनी थियो । नेपालका लागि मलेसियामा सन् २००२ सम्म वैधानिक रेमिट्यान्सको विकल्प पनि नहुदा हुण्डी नै मौलाएको थियो । त्यो बेला आइएमई ग्रुपका चेयरमेन चन्द्रप्रसाद ढकाल, निर्देशक हेमराज ढकाल सरहरुले आफुलाई दिएको माया, बिश्वास र जिम्मेवारीको लागि वहाँहरुप्रति आजीवन कृतज्ञ रहेको कमलले स्मरण गरेका छन् ।आइएमईका तत्कालीन म्यानेजर अर्जुन शर्मा पौडेल, दिवाकर पौडेल पनि मलेसियामा बसेर बैधानिक रेमिट्यान्सका लागि जनचेतना जगाउने काम गरे । उनले पनि अग्रजहरुका साथमा काम गर्ने मौका पाए । मलेसियामा रहेका विभिन्न कम्पनीहरु भ्रमण गरी नेपालीहरुलाई आइएमईमार्फत पैसा पठाउन अनुरोध गर्ने, काउन्टरमा बसेर सेवा दिने लगायतका धेरै काम गरे । त्योबेला मासिक १० हजार जनाले नेपालमा पैसा वैधानिक माध्यमबाट पठाउथे । कलल लगायत आइएमई नेपालको मलेसिया समुहको निरन्तरको मिहिनेतले २०१७ सम्म्मा मासिक पाँच लाख नेपालीहरुले वैधानिक तरिकाले नेपालमा पैसा पठाउन थालेका थिए । त्यसमा करिब डेढ लाख जनाले वैधानिक रेमिट्यान्सका लागि आइएमईलाई माध्यम बनाउन थालेका थिए । यही अवधिमा आइएमई एउटा रेमिट्यान्स कम्पनीमात्रै नभएर करोडौं नेपालीहरुको खुसी र मुस्कान साटासाट गर्ने ब्रान्ड कम्पनी बन्यो । अहिले पनि विदेशबाट पैसा पठाउने कामलाई आइएमइ गर्ने भनेर स्थापित भएको छ ।

मलेसियामा आइएमईलाई नेपालीहरुको मनमनमा बास बसाउन धेरै मिहिनेत गरेको उनले युएईबाट सम्झिए । सार्वजनिक बस चढेर नेपालीहरु काम गर्ने जङ्गलहरुसम्म पुगेर आइएमईको प्रचारप्रसार गरेको, हुण्डीलाई निरुत्साहित गरी वैधानिक तरिकाले पैसा पठाउन काउन्सिलिङ गर्दा धेरै रातहरु अबेलासम्म बसेको अहिले पनि सम्झन्छन् । मलेसियामा उनले सन् २००५ देखि २००६ सम्म काउन्टर अफिसर भएर काम गरे भने २००७ देखि २०१० मे सम्म शाखाको सुपरभाइजर भएर शाखाका सबै आर्थिक कारोबार संचालनमा मुख्य भुमिका निर्वाह गर्न थाले । २०१० देखि २०११ सम्म मार्केटिङ मेनेजर भएर काम गरे भने २०१२ देखि २०१७ सम्म मेरो पदोन्नति भएर कस्टमर सर्भिस मेनेजरसम्म पुगेका थिए। त्यो बेला उनले ३ सय जति कर्मचारीको व्यवस्थापन गर्नुपरेको रमाइलो अनुभव सँगाालेका छन् । त्यो बेला मलेसियाको आइएमईको समुह अमेरिकी व्यवस्थापनमा चलेको रिया मनी ट्रान्सफरमा मर्ज भयो । त्यो मर्जरसँगै कमल लगायत सबै कर्मचारी रिया मनी ट्रान्सफरका कर्मचारीको रूपमा परिवर्तित भए । त्यो पदोन्नतिका साथमा उनको सरुवा सन् २०१७ मा युएइको लागि भयो । त्यो बेलादेखि अहिलेसम्म रिया मनी ट्रान्सफरको जिसिसी अपरेसनल निर्देशकका रूपमा काम गरिरहेका छन् ।

उनले कामको सिलसिलामा अमेरिका लगायत युरोपेली साथै एसियायी देशहरु गरी करिब २० देशहरुको भ्रमण गरिसकेका छन् । आफुलाई यो स्थानसम्म पुर्‍याउन जीवनसाथी तृप्ती कुँवर र बुबा खडगबहादुर र आमा रुपा क्षेत्रीको त्याग र योगदान भएको र त्यसका प्रति आफू सदैव आभारी रहेको उनको स्वीकारोक्ति छ।