घाइते कर्मचारीको उपचारका लागि मन्त्री आलेले सहयोग स्वरुप दिए रु.१ लाख रुपैयाँ।

काठमाडौं := वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैंडा गणनाका क्रममा घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको उपचारका लागि व्यक्तिगत तर्फबाट रु. १ लाख रुपैयाँ उपचार खर्च प्रदान गरेका छन्।

३५ वर्षीय श्रेष्ठ चैत २० गते गैंडा गणनाका क्रममा ध्रुवे नामक जंगली हात्तीले लखेटेपछि हात्तीबाट खसेर गम्भीर घाइते भएका हुन्। उनको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर मन्त्री आलेले रकम प्रदान गरेका हुन्। श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिए।

तस्बिरमा मन्त्री प्रेमबहादुर आले

‘गैँडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते हुनुभएको छ, मैले पनि उपचारका लागि एक लाख रुपैयाँ सहयोग गरेको छु,’ उनले भने‚ ‘उहाँको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ।’ सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने भनेर बताएपछि श्रेष्ठका परिवार मन्त्री आलेप्रति निकै खुशी भएका छन्।

यसैगरी मन्त्रीसँग वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महानिर्देशक डा. दीपक खराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीलगायतको टोली पनि घाइते श्रेष्ठ भेट्न अस्पताल पुगेको थियो।रासस