माओवादीको आक्रमणमा परि २२ जना भारतीय सुरक्षाकर्मी मारिए, ३१ जवान घाइते।

एजेन्सी := माओवादीको आक्रमणमा परेर कम्तीमा २२ जना भारतीय सुरक्षाकर्मी मारिएका छन् । अन्य ३१ जना जवान घाइते भएको बताइएको छ । भारतको छत्तीसगढ राज्यमा माओवादी नक्सलहिरुसँग भएको भिडन्तमा यी सुरक्षाकर्मी मारिएका हुन् । भारतीय सुरक्षा फौजले माओवादीविरुद्ध सुकमा–बिजपुर सीमा क्षेत्रमा संचालन गरेको अपरेशनमा नक्सलीसँगको भिडन्तमा २२ जवान मारिएका हुन् । १ जना अझै बेपत्ता भएको बताइएको छ ।

 

इण्डिया टुडेका अनुसार सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का महानिर्देशक कुलदीप सिंह आइतबार छत्तीसगढ पुगेका छन् । नक्सलीहरुले मारिएका जवानको हतियार, बुलेटप्रुफ ज्याकेट र जुत्ता समेत लिएर भागेको रिपोर्टमा जनाइएको छ । ३१ जना घाइते जवानलाई बिजापुरको अस्पतालमा ल्याइएको छ । यीमध्ये कम्तीमा ७ जनालाई उपचारको लागि रायपुर रिफर गरिएको छ।

छत्तीसगढका पुलिस महानिर्देशक (डिजीपी) डिएम अवस्थी र सिआरपीएफका महानिर्देशक कुलदीप सिंहले इण्डिया टुडेसँग कुरा गर्दै २२ जवानको शन भेटिएको पुष्टि गरे । केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढमा सुरक्षाकर्मी मारिएको घटनाप्रति समवेदना व्यक्त गरेका छन् । शाहले सुरक्षाकर्मीलाई एम्बुसमा पार्ने माओवादीहरुतर्फ इंगित गर्दै लेखेका छन् ‘हामी यी शान्ति र प्रगतिका दुश्मनहरुसँग युद्ध जारी राख्नेछौं ।’