विदेशमा मृत्यु भएका १७ नेपालीको शव नेपाल आईपुग्यो, मलेसियाबाट १२ वटा शव।

काठमाडौं:= वैदेशिक रोजगारीको निम्ति विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा कार्यरत लाखौंलाख नेपाली श्रमिक मध्य रोजगारीकै क्रममा विभिन्न कारणबस ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल आइपुगेको छ।

आइतवार बिहान मलेसियाबाट १२ जना मृत् नेपालीको शव नेपाल आईपुगेका हुन , त्यस्तै कतारबाट २, टर्कीबाट ३ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

मृतक १७ जनामध्य २ जना नेपाली युवा गोरखा जिल्लाका निवासी रहेका थिए । गोरखा २ सिरानचोक ५ का २८ वर्षीय सूर्य विक, गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव विमास्थल आइपुगेसँगै उनीहरूका आफन्तसहित पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराई पनि शव बुझ्न पुगेका थिए।

डा.भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै मृतकका आफन्तको भाव विह्वल अवस्था देख्दा आफूले समेत आसु रोक्न नसकेको जनाएका छन् । ‘कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’, डा.भट्टराईले लेखेका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु मध्य सबैभन्दा बढी मृत्यु मलेसियामा कार्यरत रहेका नेपालीहरुको मृत्यु हुने गरेको वैदेशिक रोजगार बिभागको तथ्यांकले देखाउछ। मलेसियामा दिनहुँ जसो विभिन्न कारणबस नेपाली श्रमिकको मृत्यु हुने गरेको पाइएको छ।