थारु समुदायमा फुटको लहर, ‘कठरिया थारु’ले पनि सरकारसँग राख्यो अलग्गै सूचीकरणको माग?

[ लखन चौधरी ]


धनगढीः= पश्चिम नेपालको कैलाली र बर्दिया जिल्लामा मात्रै बसोबास रहेको आदिवासी कठरिया समुदायले अलग्गै जातिको रुपमा सूचीकरणको माग अगाडि सारेको छ।

थारु जातिभित्र आफुहरुको अलग्गै भेषभुषा, भाषा, खानपानलगायत जातीय पहिचान रहेको भन्दै सो समुदायले सरकारसमक्ष सो माग राखेको हो।

यसअघि कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारु जातिले अलग्गै सूचीकरणका माग राखेको थियो। २०७६ माघ २० गतेको मन्त्रिपरिषदको निर्णयले रानाथारुलाई अलग्गै जातिको रुपमा सूचिकृत गरेको थियो।

हाल रानाथारुकै सिको गर्दै कठरिया समुदायले पनि अलग्गै सूचीकरणको माग सार्न थालेको हो।

कैलालीको भजनी नगरपालिका नगरपालिका ७ चर्रामा चैत २१ गते आयोजित दुसरा होरी उत्सव कार्यक्रमकाबीच सो समुदायले सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई १० बुँदे मागपत्र बुझाएका छन्।

किन सूचीकरण ?

दुसरा होरी उत्सव आयोजक समितिका संयोजक तथा भजनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष अमर बहादुर कठरियाले भने, “समग्र थारु जातिभित्र रानाथारु जाति जस्तै कठरिया जातिको पनि फरक पहिचान छ। भेषभुषा, संस्कार, रितिरिवाज, भाषा, घरको वनावट, खानपान, धार्मिक संस्कार, विवाह संस्कारलगायत फरक पहिचान छ। सोही कारण आदिवासी जनजातिको रुपमा अलग्गै पहिचान खोजेका हौ।”

अलग्गै सूचीकरणसँगै समुदायभित्रको भाषा संस्कृति लोप हुने क्रममा रहेको र विकासको दृष्टिकोणले पनि पछाडि परेकोले राज्यको ध्यानाकर्षण गर्नलाई पनि कार्यक्रम गरेको वडा अध्यक्ष कठरियाले बताए।

सो समुदायले रेडियो नेपालको केन्द्रीय वा प्रादेशिक प्रशारण केन्द्रमार्फत कठरिया भाषाको समाचार प्रशारण हुनुपर्ने पनि माग राखेको छ। कठरिया होमस्टे संग्राहलयको व्यवस्था हुनुपर्ने र नेपालमा आफुहरु अल्पसंख्यक् समुदायको रुपमा रहेकोले उत्थानको लागि जनसंख्याको आधारमा आरक्ष कोटाको व्यवस्था हुनुपर्नेमा जोड दिन्छन् कठरिया सन्देश अर्धवार्षिक पत्रिका सम्पादक ठागुराम कठरिया।

बर्दिया र कैलालीमा मात्रै बसोबास रहेको कठरिया समुदायको जातिय जनसंख्या कैलालीमा २० हजार हुन सक्ने वडा अध्यक्ष कठरियाको भनाइ छ।

कैलाली जिल्लाको टीकापुर, लम्की चुुहा नगरपालिका, घोडोघाडी नगरपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिकामा कठरिया समुदायको स्थायी बसोबास रहिआएको छ। त्यस्तै, भारतको उत्तर प्रदेशस्थित लखिम खिरी क्षेत्रमा समेत कठरिया समुदायको बसोबास रहेको बताइएको छ।

कठरिया सन्देश अर्धवार्षिक पत्रिका समेत विमोचन गरिएको होरी उत्सव कार्यक्रमा ३५ गाउँको होरी नाचसहित लोपोन्मुख बन्ना नाच, सजना, बैरासु गीत पनि वाचन गरिएको थियो।

कठरिया जातिको ऐतिहासिकता :

डंगौरा थारूसँगै घुलमिल गरि बसेको कठरिया समुदायको आफ्नै प्राचीन इतिहास रहेको पाइएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकासद्वारा २०७६/२०७७ मा आयोजित पुरातत्व सम्बन्धी कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको ‘सुदूरपश्चिमको डंगौरा, राना र कठरिया थारू’ कार्यपत्र अनुसार सो समुदायको आफ्नै इतिहास र मौलिक पहिचान रहेको पाइएको छ।

कठरिया समाज नेपालले २०६८ मा तत्कालीन स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीमार्फत तत्कालीन प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा पनि सो समुदायले आफ्नै इतिहास र सभ्यता रहेको र हाल विविध कारणले लोप गइरहेकोले संरक्षण तथा सम्वद्र्धनको लागि राज्यको ध्यान जान आवश्यक रहेको भनी सुझाएको थियो।

प्राचीन समयका ऋषि विशामपयनका सुपुत्र काठ ऋषिले काठोपानीरादा भन्ने ग्रन्थ लेखेका थिए। साथै उनीबाट जन्मेका सन्ततिलाई कठरिया जाति भन्ने गरिएको छ।

अर्को तथ्य अनुसार भारतको उत्तराखण्डको मुरादावाददेखि बदनयनसम्मको क्षेत्रलाई कठार क्षेत्र भनिन्थ्यो। उक्त कठार क्षेत्रमा बासोबास गर्ने जाति समुदायलाई कठरिया भन्ने गरिन्थ्यो। सन् १०६० ताका मुगल सम्राटद्वारा युद्धको थालनी हुँदा जीवन रक्षा गर्दै बसाइ सरी उत्तर दिशा अर्थात भारतको उत्तरी क्षेत्र र नेपालको दक्षिणी क्षेत्रमा यस जातिको बसोबास रहन गएको कथन छ। जस अनुसार कठरिया समुदायको उत्पत्ति भारतको त्यही कठार क्षेत्र नै हो भन्ने सो समुदायको दाबी पनि छ ।

सो कार्यपत्रमा भनिएको छ, “कठरिया समुदायले बोल्ने भाषा कठरिया भाषा हो। यस समुदायका थारूहरूले आफ्नो नामको पछाडि कठरिया लेख्छन्। उनीहरूको पहिचान नै कठरिया हो। उनीहरूलगायत परिचित सबैले कठरिया भाषा भनेर चिन्दछन्।”