२८ गते दशरथ रंगशालामा कोभिड कप फुटबल प्रतियोगिता हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने।

काठमाडौं:= यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने हुनुभएको छ ।

आयोजक संस्थाद्धय काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराएका हुन् । विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको पनि आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछन् । कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व (कप्तान) नायक धीेरेन शाक्यले गर्ने, लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी, हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे, काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने जनाईएको छ ।

‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता विशुद्ध मनोरञ्जनका लागि हुने पनि जनाईएको छ । आयोजक संस्थाले यस्तो पनि कार्यक्रम भैरहेको छ भनेर संसारलाई एउटा सन्देश दिने विश्वास लिएको छ ।

कार्यक्रममा मिडिया हाउसका कार्यकारी निर्देशक समिर लामाले विश्व नै कोभिडबाट प्रभावित भएको उल्लेख गर्दै नेपालले भने कोभिडबाट कम क्षति व्यहोरेको भन्दै कोभिड नियन्त्रणमा नेपालको अवस्था सन्तोषजनक भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘विश्वले नै कोभिडको मार भोगिरहेको छ ।

तर, नेपाल गरिब मुलुकको सुचीमा रहेपनि यसले कोरोना संक्रमणलाई निर्मुल तुल्याएको छ । यसै सन्दर्भमा हामीले कोभिड कपको आयोजना गरिरहेका छौँ । यसबाहेक पनि हामीले आगामी दिनमा ठूला–ठूला प्रतियोगिता र कार्यक्रमहरु आयोजना गर्दैछौं ।’ उहाँले आउने दशैंमा अवार्ड वितरण गर्न लागिएको पनि जनाउनु भयो ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले कोभिड कप प्रतियोगिताको सफलताको कामना गर्नुभयो । र, आगामी दिनमा पनि यस्तो कार्यक्रम गरिने उहाँले विश्वास दिलाउनु भयो । कोभिडकै जोखिममा कारण यो वर्ष ६४औं सहकारी दिवस मनाउन नसकिएको उहाँले सुनाउनु भयो।

त्यसैगरी जिल्ला सहकारी संघ काठमाडौांका उपाध्यक्ष खेमराज सुबेदीले नेपालमा सहकारी अभियान सुरु भएको ६४औँ वर्षको उपलक्ष्यमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुृभयो,‘सहकारीसम्बन्धी जनचेतना वृद्धि गर्ने र सहकारी समूदायलाई एकीकृत गर्ने उद्दश्यका साथ यो कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ ।’ उहाँले उक्त प्रतियोगिता सफल रुपमा सम्पन्न गर्नको लागि सबैको साथ, समर्थन र सद्भावको अपेक्षा राखेको पनि बताउनु भयो ।

कार्यक्रममा नायक धिरेन शाक्य, गायक बद्री पंगेनी र कलाकार शिवहरि नेपालले उक्त प्रतियोगिता सफलताको कामना गर्नुभयो । नायक शाक्यले कोभिडले स्तब्ध बनाएको विश्वले खेल जगतको कुनै पनि खेल नदेखेको कारण नयाँ तरिकाबाट खेलको आनन्द लिनेगरि कोभिड कपको आयोजना गरिएको उहाँले बताउनु भयो । गायक पंगेनीले आफूलाई फुटबल निकै मनपर्ने खेल भएको सुनाउनुभयो  ।

उहाँले भन्नुभयो,‘फुटबलको आयोजना गर्ने आयोजकलाई धन्यवाद दिन चाहन्छु । कलासंगै खेलसंग जोडिने अवसर पाएका छौ ।’ उहाँले उक्त प्रतियोगिताबाट बेनिफिट भएको रकम सामाजिक कार्यका लागि खर्चिनेपनि स्पष्ट पार्नुभयो ।