प्रदूषणको मारमा नेपाल।

हालका दिनहरूमा एकातिर देशमा राजनीतिक प्रदूषणले आक्रान्त पारेको छ भने अर्कातिर प्राकृतिक प्रदूषणले पनि देशलाई भयावह प्रभाव पारेको छ । कोरोना संसारकै लागि महामारी हो । यसको प्रभाव र रोकथाममा कमबेसी भने हुने नै भयो तर यसको दोस्रो चरणको संक्रमण बढिरहेको छ । छिमेकी देश भारतमा एकै दिनमा पैंसठ्ठी सत्तरी हजार मानिसहरू कोरानाबाट प्रभावित भइरहेका छन् । कुनै संक्रमणले भारत प्रभावित हुनु भनेको हरेक दृष्टिकोणबाट नेपाल पनि प्रभावित हुनु हो । सचेतताको कुरा एकातिर छ, अर्कातिर प्राकृतिक प्रदूषणले केही दिनदेखि नेपाललाई नराम्रो गरी आक्रान्त पारिरहेको छ । नेपालको आकाश विशेष गरी उपत्यकामा तीन÷चार दिनदेखि बाक्लो तुवाँलोले ढाकेको छ । वातावरण एकदमै उराठलाग्दो बनेको छ, घाम लागेको छैन ।

गर्मी चढ्न लागेका बेला फेरि चिसो बढेको छ । तुवाँलोले वातावरण अस्वस्थ बन्न पुगेको छ । यस्तो अवस्थाका अनेक थरी रोगव्याधिबाट मानिस प्रभावित बनिरहेका छन् । बाहिरफेरो जाँदा प्रदूषित हावाले आँखा पोल्ने, मुख र नाक सुख्खा हुनेजस्ता लक्षणहरू हुने गरेका छन् । सरकारले मानिसलाई बाहिरफेरो नजान र प्रातभ्रमण गर्नेलाई त्यसरी भ्रमणमा नजान सुझाब दिएको छ । रोगी, बिरामी, वृद्ध र बालबालिकाका लागि त यस्तो वातावरण झनै हानीकारक बन्ने गर्दछ । सरकारले भनेजसरी घरैमा बस्दा प्रदूषणको प्रभावबाट केहीमात्रामा बच्न सकिन्छ तर पूर्णरूपमा त घरैमा बसेर बँच्न सकिँदैन । किनभने वातावरण वा हावामै फैलिएको यस्तो विषाक्त पदार्थ समान रूपमा सबैतिर नै फैलिएको हुन्छ । यसबाट बँच्न घरैमा बसे सावधानी अपनाउनुपर्ने हुन्छ ।

आहारविहार खानपानमा सावधानी अपनाउनुपर्छ । त्यसै त जाडो र गर्मीको बीचको समय स्वास्थ्यका लागि हानीकारकै हुनेगर्छ । रुघाखोकी, ज्वरो, पखाला, आउँजस्ता मौसमी प्रकोपहरूदेखि सावधान रहनैपथ्र्यो भने हालको तुवाँलो अत्यन्तै हानीकारक छ भन्ने कुरा दुई÷तीन दिनको भोगाइबाट सबैले अनुभव गरिसकेकै छौं । यसको प्रभाव घटेको छैन, अझै बढिरहेको छ । केही दिनसम्म प्रभाव रहने मौसमविद्ले बताइरहेका छन् । सरकारले केही दिनका लागि विद्यालय बन्द गर्न निर्देशन गरेको छ । यो अनुपयुक्त होइन तर मानिसको जमघट हुने स्थान स्कुलकलेजमात्र होइनन् भन्ने आवाज उठिरहेको छ । एकातिर कोरोनाको निरन्तरको प्रभाव र अर्कातिर यो प्रदूषित मौसमले गर्दा भीडभाड र जमघट हुने स्थानहरू बन्द गर्नुपर्ने भएको छ । जो सरकारले निर्देशन गरेको छ ।

अरू केही क्षेत्रहरू यसैगरी बन्द गर्नुपर्ने आवश्यकता देखिएको छ । मानिसहरूले पार्टी, वनभोज, गोष्ठी, साहित्यिक भेला, भ्रमणलगायत कार्यक्रम रोकेका छैनन् । यिनमा तत्काल रोक लगाउनुपर्ने देखिएको छ । सार्वजनिक यातायातहरू भीडभाड हुने ठाउँ नै हुन् । यिनको सञ्चालन रोक्नु वा घटाउनु उचित हुन्छ । यो वातावरणीय प्रदूषणका कारण चाहिँ मुख्य रूपमा दुईवटा देखिएका छन् । हाल नेपालको धेरै ठाउँमा वन डडेलो लागेको छ । प्रायः सबैजसो जिल्लाका धेरै वनमा आगो लाग्नाले त्यसबाट उत्सर्जन हुने धुवाँले आकाश ढाकेको अवस्था छ । त्यसरी उत्सर्जन हुने कार्बनसँग उडेको धुलो, धुवाँ र खरानीले प्रदूषण फैलाएको छ । घामको प्रकाश पृथ्वीसम्म आइपुग्न सकेको छैन भने कार्बनले मानिसलगायत प्राणीहरूका लागि आवश्यक अक्सिजनको मात्रा घटाइदिएको छ । जसले गर्दा अहिलेको अवस्था सिर्जना हुन पुगेको हो ।

यस वर्ष हिउँदे पानी नपर्नाले वनजंगलको माटो सुख्खा भएको र पातपतिंगरसमेत भिजेर चिसो बन्न नपाएका कारण डडेलाका लागि सहज अवस्था सिर्जना भएको छ । अर्कातिर भारतको राजस्तानबाट उडेर आएको धुलोले यसरी नेपालको आकाश प्रदूषित गराएको हो भन्ने वातावरणविद्ले राय दिएका छन् । गतवर्ष यसरी नै तुवाँलोले नेपालको आकाश ढाकेको थियो । वर्षाको पानीमा लेदो मिसिएको थियो । हावामा मिसिएको यस्तो धुलोमैलो बाहिर हिँडेका बेला सास फेर्दा हामीले सिधैं लिने गर्छौं र अनेकौं रोगबाट संक्रमित बन्नपुग्छौं । त्यसैले हालका दिनहरू अत्यन्त हानीकारक बन्न पुगेकाले अतिआवश्यक काम परेको अवस्थामा बाहेक घरबाहिर ननिस्कनु र घरमा बस्ता सावधानी अपनाउनु बुद्धिमानी ठहरिन्छ।