बर्मामा सैन्य क्रुरता: ४ सय बढी मारिए, रोकिएन ओर्लिन सडकमा जनसागर।

एजेन्सी (म्यानमार) := म्यानमारमा सैन्य कूको विरोध सडकमा उर्लिएको जनसागरलाई बलपूर्वक दबाउन खोज्दा अवस्था झन् जटिल बन्दै गएको छ । ४ सय भन्दा धेरै मारिएका छन् । प्रदर्शननकारीमाथिको सैन्य ज्यादती बढ्दो छ। हजारौँ मानिस हिरासतमा थुनिएका छन् ।

गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि त्यसको विरोधमा हरेक दिन प्रदर्शन हुँदैआएको छ । तर सेनाले प्रदर्शन दबाउन व्यापक रुपमा गोली वर्षा गरेको छ ।पछिल्ला दिनहरुमा प्रदर्शनकारीहरुमाथि सेना थप आक्रामक देखिएको छ । पछिल्लो शनिबार मात्रै सेनाले ४० ठाउँमा गोली चलाएको थियो । जहाँ १ सय भन्दा धेरै मारिएका छन् । र यस घटनालाई फेब्रुअरी १ यताकै सबैभन्दा डरलाग्दो मानिएको छ ।

आइतबार भने स्कुले बालकसहित केही युवकहरुको श्रद्धाञ्जली सभामा भेला भएका मानिसहरुमाथि समेत सेनाले गोली चलायो । यद्यपि म्यानमारका विभिन्न सहरमा प्रदर्शन रोकिएको छैन । सेना थप हिंस्रक बन्दैआएको छ ।

एजेन्सीहरुका अनुसार आइतबारसम्म आन्दोलनमा मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । तर अरु केही मृत्युका समाचार रेकर्ड नभएको हुनसक्ने बताइएको छ । आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । आइतबार मात्रै ३६ जनाको हत्या भयो भने शनिबार एकै दिन ११४ जना प्रदर्शनकारी मारिए । र हालसम्म २,५५९ जना सैनिक हिरासतमा छन् । ३७ जनालाई जेल सजाय तोकिएको छ।

विश्वभरबाट निन्दा :

म्यानमारको सेनाको गतिविधिमाथि विश्वका विभिन्न देशले विरोध जनाइसकेका छन् । कतिपय देशमा त म्यानमारको प्रजातान्त्रिक आन्दोलनप्रति ऐकवद्धता साथै सेनाको विरोध गर्दै प्रदर्शन समेत भएका छन् । नेपालसहित केही देशका नागरिक अगुवाहरुले सरकारलाई यस घटनाको विरोध गर्न माग गरिरहेका छन् ।

शनिबारको हिंसात्मक र ज्यादतीपूर्ण घटनासँगै अमेरिका, बेलायत सहित विभिन्न १२ देशका रक्षामन्त्रीहरुले म्यानमारको सैन्य दमनको विरोध गरेका छन् ।

बीबीसीका अनुसार अमेरिकाले शनिवार सुरक्षा फौजहरूले ‘आतङ्कको शासन’ गरेको आरोप लगाएको छ। बेलायतसहित १२ देशका रक्षा प्रमुखहरूले एउटा संयुक्त वक्तव्य जारी गर्दै सेनाको हिंसात्मक कदमको निन्दा गरेका छन्।

अमेरिका, जापान र अस्ट्रेलियाले पनि संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् । व्यावसायिक सेनाले संहितासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्ने र आफूले सेवा गर्ने जनतालाई क्षति पुर्‍याउन नभएर सुरक्षा दिन जिम्मेवार हुनुपर्ने वक्तव्यमा उल्लेख छ ।

विश्वभरबाट विरोध र निन्दा भइरहँदा सैन्य कू का नाइके मिन आङ लाइङ्ग र उनका जनरलहरू भने सशस्त्र बल दिवसको अवसरमा राति एउटा विलासी भोजमा सरिक भएका थिए।

म्यानमारमा हत्याका खबरबाट आफू स्तब्ध भएको अमेरिकी अधिकारीहरुको प्रतिक्रिया छ। यस्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि हिंसाका खबरबाट ‘पूरै स्तब्ध’ भएको बताएका छन् ।

गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्दै म्यानमारको सेनाले सत्ता कब्जा गरेको थियो । साथै नेत्री आन साङ सू चीसहित थुप्रै नेताहरुलाई हिरासतमा लिएर मुद्दा चलाएको छ । ५० वर्षसम्म सत्ता नियन्त्रणमा लिएको म्यानमारको सेनाले २०११ मा नागरिकलाई सत्ता हस्तान्तरण गरेको थियो । तर त्यसको १० वर्ष पुग्दा नपुग्दै फेरि सत्ता हत्याएको हो ।

सत्ता कब्जा गरेसँगै संकटकाल लगाएर सैनिक अधिकारीहरुले चुनाव गराउने अभिव्यक्ति दिए पनि नागरिक प्रदर्शनमाथि चरम दमन गर्न थालेको छ । सुरुका दिनमा मौन रहेको सेनाले अचेल हरेक दिन प्रदर्शनकारीको हत्या गरेको छ । केही प्रदर्शनकारीहरुलाई त घरबाटै पक्राउ गरेर समेत हत्या गरेको समाचार आएका छन् ।

त्यसो त सरकारी कर्मचारी र कतिपय प्रहरीले समेत शासन अवज्ञा गर्दै राजीनामा दिएका छन् । प्रहरी, सरकारी कर्मचारी सहित ठूलो संख्यामा नागरिकहरु भागेर भारत लगायत देशमा पुगेका छन् । सैन्य सरकार भने प्रदर्शनकारीहरुसँग वार्ता गर्न वा सत्ता हस्तान्तरण गर्न तयार देखिएको छैन ।