बागलुङ := नेपाली कांग्रेस बागलुङले बडिगाड घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई गर्न र घाइतेको उपचार गर्न माग गरेको छ ।
सभापति दिपेन्द्र बहादुर थापाले हस्ताक्षेर गरेको विज्ञप्तीमा जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक दमाईमाथि सुनियोजित रुपमा सांघातिक हमाल गरि योजनाबद्ध रुपमा हत्या गरिएको उल्लेख छ ।
यस घटना प्रति घटना प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको सभापति थापाले बताए । घटनाको विभिन्न समाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको भिडियो र तस्बिरले प्रमाण दिएको बताइएको छ ।
विज्ञप्तीमा घटना सुनियोजित रुपमा अपराधिक मानसिकताबाट प्रेरित भइ यो घटना भएको र झडपमा घाइते भएका ज्ञानु दमाई लगायतका घाइतेहरुको उपचारमा सरकारले गर्नु पर्ने उल्लेख छ ।
आइतबार भएको झडपमा परेर मृत्यु हुने प्रकाश कुँवर नेपाली कांग्रेस बागलुङ सदस्य हुने भने अर्का दीपक दमाई सक्रिय कार्यकर्ता रहेको काग्रेस बागलुङले जनाएको छ ।
हराएका १३ जना सम्पर्कमा आए, १० जना घाइते
निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा मृत्यु भएका २ जनाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइएको छ ।
होली खेल्ने क्रममा विवाद हुँदा बडिगाड गाउँपालिका वडा नम्बर १० का युवाहरुको कुटपिटबाट र निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।
घटनाको मुचुल्का उठाई दुवै जनाको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
ती दुई जनाको शव गोरेटो बाटो भन्दा करिब २ सय मिटर तल फेला परेको हवारीको भनाई छ । घटनाको बारेमा अनुसन्धान भई रहेको उहाँको भनाई छ ।
प्रहरीले घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा ल्याउन सकेको छैन । अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट टोली गएको र नजिकमा रहेका चौकीबाट पनि प्रहरीहरु खटिएको बताइएको छ ।
१३ जना सम्पर्क बिहीन भएकाहरु युवाहरु राति सम्पर्कमा आएको निसीखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो । ति मध्ये १० जना युवा घाइते भएको उहाँको भनाई छ ।
घाइते मध्ये ज्ञानु दमाई, मिठे दमाईसहितका युवालाई राति नै उपचारको लागि बुर्तिबाङ पठाइएको अध्यक्ष कुँवरको भनाई छ।




















