अन्ततः मलेसियामा बेपत्ता भएका नेपाली श्रमिक राजु तामाङको खोजी गरि नेपाल फर्काइयो।

क्वालालम्पुर (मलेसिया):= अन्ततः केही महिना अगाडिदेखी मलेसियामा बेपत्ता भएका राजु तामाङलाई फेला पारि स्वदेश,नेपाल फर्काइएको छ।

नेपाल ठेगाना प्रदेश नम्बर .१ भोजपुर जिल्लाको राम प्रसाद राई गाउँपालिका -५ का निवासी ३० बर्षिय राजु तामाङलाई मलेसियामा रहेका नेपाली संघसंस्था लगायतका सहयोगी ब्यक्तिहरुले खोजी गरि सकुशल नेपाल फर्काईएको हो।

पछिल्लो समय नेपालको पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु आजभन्दा करिब ७ बर्षअघि वैदेशिक रोजगारीको निम्ति मलेसियामा आएका थिए।
यहीँ बर्ष सन् २०२१ को गएको जनवरी ९ तारिख देखि सम्पर्क बिहिन भएको तर पछि ४८ दिनपछि घाइते अवस्थामा मलेसियाको एक अस्पतालमा भर्ना भएको अवस्थामा फेला परेका थिए।

राजु मलेसियामा एक्कासि सम्पर्क बिहिन भएपछि उनका दाजु तिलोचन तामाङ(श्याम लामा)ले राजुको खोजी गरिदिनुहुनको लागी नेपाली मिडिया लगायतको सरोकारवाला निकाय र संघसंस्थाहरु लाई हारगुहार गरि सहयोग मागेका थिए।

अन्ततः लामो समयको खोजिनिती पछि तामाङ दुर्घटनामा परेर अस्पताल भर्ना भएको थाहा पाएपछि मलेसिया स्थित नेपालीहरुले सहयोग गरेर स्वदेश फर्काएका हुन।
राजुलाई मलेसियादेखी स्वदेश नेपाल फर्काउने अभियानमै  लागी अग्रपङ्तीमा खट्नुभएका खेमराज खत्रीले जानकारी गराएअनुसार यहीँ मिति सन् २०२१/०३/२६ तारिख हिजो शुक्रबारको दिन बिहान ०५:५५ बजेको हिमालयन एयरलाइन्सको फ्लाईट मार्फत राजु तामाङलाई नेपाल फर्काइएका हुन।

उनलाई नेपाल पठाउनको लागी मलेसिया स्थित नेपाली राजदूतावास , गैर आवासीय नेपाली संघ (एनआरएनए)  मलेसिया, नेपाल तामाङ घेदुङ मलेसिया , खेमराज खत्री , बिकास कौशल लगायतका समाजिक संघसंस्था र अन्य विभिन्न सहयोगी व्यक्तिहरुले पनि सक्दो आर्थिक,भौतिक सहयोग गरेका थिए।

तामाङलाई स्वदेश फर्काउनको लागि आवश्यक पर्ने एयरलाइन्सको हवाई टिकट तथा कोरोना सम्बन्धि पिसीआर परिक्षण गराए बापत्त लाग्ने खर्च सबै एनआरएन मलेसिया समितीले ब्यहोरेर भुक्तानी गरि सहयोग गरेको एनआरएनए मलेसिया अध्यक्ष हरि भट्टराईले जानकारी गराउनुभयो।

थप आर्थिक रकम सहयोग गर्नेहरुमा एनआरएनए मलेसियाका सल्लाहकार योगेन्द्र कुँवरले मलेसियन रिंगेट आरएम-१६९३ बराबरको अस्पतालको खर्च बिल बापत्तको रकम तिरिदिएको र नेपाल तामाङ घेदुङ मलेसियाले आरएम-८०० रिंगेट तथा नीचिया मलेसिया एसडिएन,बिएचडी नामक कम्पनीमा कार्यरत कामदारहरुले संकलन गरेको आरएम-१४८९ नगद रिंगेट आर्थिक सहयोग गरेको र अन्य पनि कैयौं मनकारी,सहयोगी नेपाली हरुले आर्थिक रकम सहयोग गरेको जनाइएको छ।

जानकारी अनुसार राजुलाई उद्धार गरेर स्वदेश फर्काउनको निम्ति संघसंस्था र सहयोगी ब्यक्तित्वहरुबाट प्राप्त जम्माजम्मी सहयोग रकम ५ हजार २ सय बढी संकलन गरिएको थियो। संकलन भएको सहयोग रकम पनि राजुको उपचारको निम्ति , हवाई टिकट , यातायात खर्च लगायतको कामकाजमा खर्च गरिएको र बचेको बाँकी रकम चाहिँ पीडित राजु तामाङलाईनै हस्तान्तरण गरिएको जनाएको छ।