भारत राजस्थानबाट आएको धुलोले ढाकियो काठमाडौंको आकाश।

काठमाडौं:= उपत्यकामा सुक्खा धुलो मिश्रित हावाका कारण तुँवालो बढेको छ । भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको हो । यसले आँखा पोल्ने र घाँटी खसखसाउनेलगायत समस्या देखिएको छ ।

गत पुस महिनापछि शुक्रबार फेरि विश्वका ९४ सहरमध्ये काठमाडौं पहिलो प्रदूषित सहर हुन पुगेको छ । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्युआईले जोखिमको तह नाघेको देखाएको जनाएको छ ।

केन्द्रका अनुसार ललितपुरको भैँसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा २४८ पुगेको छ । सरकारले गत वर्ष स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा एक्युआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ ।

एक्युआईले वायुमा हुने आँखाले देख्न नसकिने पिएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

विज्ञहरूका अनुसार एक्युआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्युआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्युआईलाई सामान्य मानिन्छ । एक्युआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३०१ भन्दामाथि पुगे घातक हुन्छ ।

कम भिजिविलिटीले उडान प्रभावित ठप्प

भारतको राजस्थान, हरियाणा, पञ्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिनुभएको छ ।

प्रतिकूल मौसमी अवस्थाका कारणले प्रदूषित हावा उपत्यकाभित्रै जाम भएको छ । यो रिलिज नहुँदासम्म काठमाडौंको आकाश सफा हुने छैन ।

शाक्यका अनुसार हवाई उडानमा समेत भिजिविलिटी कमजोर हुँदा समस्या आएको छ । विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु एयर डट कमका अनुसार शुक्रबार दिउँसो केहीबेर काठमाडौं विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको थियो।

सावधानी अपनाउन आग्रह

उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै घरबाहिर नबस्न र केही दिन मर्निङ वाकमा ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । प्रदूषणको मात्रा बढेकाले धुवाँ उड्ने खालका सफाइका काम तथा व्यवसाय, निर्माण कार्य केही दिन रोक्न मन्त्रालयले अपिल गरेको छ ।

अहिले भइरहेको वायु प्रदूषणले श्वासप्रश्वासमा गम्भीर समस्या निम्त्याउन सक्ने भन्दै मन्त्रालयले घरबाहिर निस्कनुपरेमा जनस्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।  पछिल्लो साता काठमाडौं उपत्यकाको वातावरणमा कार्बन, सल्फरडाइअक्साइड र नाइट्रोजनको मात्रा बढ्दा प्रदूषण बढेकाले सतर्क हुन वातावरणविद्हरूले बताउँदै आएका छन् ।

यस्तै, वातावरण विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका बिरामी सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ । फोहोर र आगो बाल्दा वायु प्रदूषण बढ्ने भएकाले यस्तो कार्य नगर्न आग्रह गरिएको छ ।

विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा

विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको छ । प्रदूषण मापन गर्ने आइक्युएयर डट कमले सार्वजनिक गरेको सूचीमा काठमाडौं एक नम्बरमा परेको हो । काठमाडौंको एक्युआई २७७ पुगेको छ ।

दोस्रो प्रदूषित शहरको सूचीमा चीनको राजधानी बेइजिङ छ । बेइजिङको एक्युआई १८७ रहेको छ । तेस्रो नम्बरमा भारतको मुम्बई, चौथोमा बंगलादेशको ढाका, पाँचौंमा चीनको शेङ्याङ,  छैटौंमा दक्षिण कोरियाको इन्चोन, सातौंमा पोल्याण्डको वार्सा, आठौंमा चीनको वुहान, नवौंमा पोल्याण्डको  र दशौंमा बुल्गेरियाको सोफिया रहेको छ ।