जेलमा रहेका जसपा सांसद रेशम चौधरी र एमाले सांसद महेश बस्नेतबीच भेटवार्ता।

काठमाडौं:= नेकपा एमाले सांसद तथा नेता महेश बस्नेतले जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई जेलमा पुगेर भेट्नु भएको छ। सांसद बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीको ‘दूत’ बनेर डिल्लीबजार कारागारमा रहनु भएको सांसद चौधरीलाई भेट्न पुग्नु भएको हो ।

अदालतले एसएसपी लक्ष्मण न्यौपानेसहितको टीकापुर हत्याकाण्डका मुख्य आरोपी दोषी ठहर्याइएका चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुग्नु भएको थियो । चौधरीलाई कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा ९ जनाको ज्यान जाने गरी ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक,राजनीतिक घटनामा अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको छ ।

जसपाले पनि सरकारलाई समर्थनका लागि रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई शर्तका रुपमा अघि सारेको छ । पछिल्लो समय एमाले र जनता समाजबादी पार्टीबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

जसपाका महन्थ ठाकुर पक्ष ओली सरकारमा सामेल हुनेगरी सहमतिको अन्तिम चरणमा पुग्न लागेको स्रोतले जनाएको छ ।यसैबीच बस्नेत र चौधरीको भेट भएको हो । केही दिन अघि जसपा नेता राजेन्द्र महतो र सरकारका एक शक्तिशाली मन्त्रीले समेत चौधरीसँग भेट गर्नुभएको थियो ।

चौधरीको रिहाइ र संविधान संशोधन विषय अगाडि बढे प्रधानमन्त्री ओलीसँग सत्ता साझेदारी गर्न जसपाका नेता ठाकुर र राजेन्द्र महतो सकारात्मक देखिनु भएको छ ।