एजेन्सी := अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाका राष्ट्रपति भ्लादमिर पुटिनमाथि ‘किलर’ भएको आरोप लगाएका थिए। एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा बाइडेनले दुई देशको सम्बन्ध नाजुक रहेको उल्लेख गर्दै पुटिनलाई ‘किलर’ नै भन्न भ्याएका थिए।
बुधवार बाइडेनको टिप्पणी सुनेपछि पुटिनले खुला बहसका लागि चुनौती दिएका छन्। बिहीवार क्रिमलिन प्रवक्ता डिमीट्री पेस्कोभले पनि बाइडेनको प्रतिक्रियाबारे रसियाको भनाई सार्वजनिक गरेका थिए।
त्यसपछि पुटिन आफैले पनि बिहीवार बाइडेनसँग सीधै अनलाइनमा कुरा गर्न आफूले चाहेको बताए। ‘राष्ट्रपति बाइडेनसँग मेरो प्रस्ताव के छ भने हामी सीधै छलफल गरौं, लाइभ हुन्छ कि अनलाइन, कुनै रेकर्ड नगरीकन,’ पुटिनको भनाईलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ। यो रसिया र अमेरिका दुबै देशका नागरिकका लागि पनि चाखलाग्दो विषय हुने पुटिनले बताएका छन्।
रसियन समाचार संस्था तासका अनुसार शुक्रवार वा सोमवार बहसका लागि पुटिनले बाइडेनलाई निम्तो दिइसकेका छन्। यता ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पस्कीले भने यो निम्तोबारे कुनै जानकारी नभएको बताएकी छन्।




















