बारा:= ध्वनि प्रदुषणको विषयलाई लिएर स्थानीयहरुले सिमरा स्थित जगदम्बा स्टिलमा ढुंगामुढा गरेका छन् । ध्वनि प्रदुषणको विषयलाई लिएर लामो समय देखि चलिरहेको विवादको समाधानै नगरि स्थानीयहरुले गोदाममा गरेको तालाबन्दी स्थानीय प्रहरी प्रशासनको सहयोगमा बल प्रयोग गरि ताला फोडेको विषयलाई लिएर उद्योगमा स्थानीयहरुले बुधवार ढुंगामुढा गरेका हुन् ।
स्थानीयहरुको ढुंगामुढाबाट उद्योग भवनको झयाल, पार्किङ्ग गरिएको गाडीको शिशा फुटनुको साथै उद्योगमा कार्यरत कर्मचारी र सुरक्षागार्ड समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । बुधवार दिउँसो तीन बजेको समयमा सय जनाको संख्यामा आएका स्थानीयहरुले उद्योगमा ढुंगा मुढा गरेको प्रहरी नायब उपरिक्षक मिश्रले बताउनुभयो। स्थानीयहरुको ढुंगामुढाले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन तीन राउण्ड अश्रु ग्यास प्रहार गरिएको प्रनाउ मिश्रले जानकारी दिनु भयो ।
स्थानीयहरुको ढुंगामुढाबाट प्रहरी निरीक्षक रामकिशोर साह लगायत १० जना प्रहरी समेत घाइते भएको उहाँले बताउनु भयो।स्थानीयहरुले गरेको ढुंगामुढाले केही समयको लागि स्थिति तनावग्रस्त बनेको उहाँले बताउनुभयो । केही समयको लागि स्थिति तनावग्रस्त बनेपनि अहिले अवस्था समान्य भएको उहाँले बताउनु भयो । स्थानीयहरुले उद्योग माथि गरेको आक्रमणले उद्योग भित्र करोडौको क्षति भएको उद्योगका संचालक पवन बाबु गुप्ताले बताउनु भयो । गाउँलेहरुको ढुंगामुढाबाट उद्योगको २०÷२५ वटा गाडीहरुको शिशा फुटेको र क्षति भएको छ ।
उनीहरुको ढुंगामुढाबाट उद्योगमा कार्यरत २५÷३० जना मजदुरहरु घाइते भएको र तिनीहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । स्थानीयहरुको ढुंगामुढाबाट गम्भीर भएका दुई जनालाई अस्पतालमा भर्ना गरिएको छ । स्थानीयहरुले बाहिरबाट र उद्योग भित्र समेत प्रवेश गरि ढुंगामुढा गरेको कारण बढी क्षति भएको प्रहरीले बतायो । स्थानीय रामकिशन श्रेष्ठ र संतोष कार्कीको नेतृत्वमा आएका स्थानीयहरुले उद्योगमा ढुंगामुढा गरेको प्रहरीको आरोप छ । सुरक्षाकर्मीको सहयोगमा स्थिति नियन्त्रणमा लिएपनि उद्योगमा धेरै क्षति भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष तिलक श्रेष्ठले उद्योग प्रशासनले आफुखुसी मेशिन जडान गरेको विरोधमा स्थानीयहरु लागे पछि उद्योग र स्थानीय बीचको विवाद बढेको बताउनुभयो। स्थानीयहरुले उद्योगमा गरेको ढुंगामुढाले उद्योगमा क्षति भएको छ भने प्रहरीको कुटाईबाट स्थानीयहरु समेत घाइते भएको उहाँ बताउनुभयो ।
स्थानीय र उद्योग बसेर छलफल गरी समस्या समाधान तिर नलाग्दा दिनानुद्दिन समस्या बढदै गएको उहाँले आरोप लगाउनुभयो । समस्या समाधान नगरी बल प्रयोग गर्नुले यस्तो समस्या आएको र यसको जिम्मेवार उद्योग नै रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । उद्योगको गोदाममा जडान गरिएको डण्डी काटने मेशिनबाट ठूलो आवाज आएपछि ठूलो आवाजको कारणले घरमा बस्न समस्या भएको भन्दै फागुन ११ गते स्थानीयहरुले जगदम्बा स्टीलको गोदाममा तालाबन्दी गरेका थिए ।
स्थानीयहरुले अघि सारेको मागलाई सम्बोधन नै नगरी प्रहरीले चैत्र २ गते बल प्रयोग गरि प्रहरीले गोदामको ताला फोडेपछि त्यसको विरोधमा स्थानीयहरुले बुधवार ढुंगामुढा गरेको जनाइएको छ ।
फोटो : जगदम्बा स्टीलमा भएको झडप ।




















