काठमाडौं := नेकपा एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालयमा भएको छलफल सकिएको छ । वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । वार्ता सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता भीम रावलले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको बताउनु भयो ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा विशेष बैठक राखेर माओवादीतर्फका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै केही नेताहरूको जिम्मेवारी हेरफेर गर्नुभएको थियो । त्यसप्रति माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
अध्यक्ष ओली पक्षले भने असन्तुष्ट पक्षद्वारा चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न आग्रह गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज भएको बैठकमा सो आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिए दिनुभयो ।
‘यस्तो भेलाले पार्टी एकतालाई बल पु¥याउँदैन भन्ने हाम्रो धारणा हो, यही कुरा उहाँहरूसमक्ष राख्यौं,’ ज्ञवालीले भन्नुभयो । छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेलसहितका नेताहरु सहभागी हुनुहुन्थ्यो भने नेपाल समूहबाट भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतको सहभागिता रहेको थियो।
पार्टी विभाजन हुन नदिन अध्यक्ष ओली पक्षले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको थियो । प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा जुट्नु भएको हो ।




















